१२ आश्विन २०८१, शनिबार
,
Latest
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिग्राफ परीक्षणको रिपोर्ट : भ्रष्टाचारका अभियुक्तले बोल्छन् सबैभन्दा धेरै झुट



अ+ अ-

काठमाडौं । घुससहित पक्राउ परेका भ्रष्टाचारका अभियुक्तले सबैभन्दा धेरै झुटो बोल्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेकाहरूले नै धेरै झुटो बोल्ने गरेको प्रहरीको पोलिग्राफ परीक्षणले देखाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार एक वर्षको अवधिमा प्रहरीले भ्रष्टाचारमा संलग्न ३२ अभियुक्तको पोलिग्राफ परीक्षण गरेको थियो । जसमध्ये २४ अभियुक्तले झुटो बोलेको परीक्षणबाट देखिएको छ ।

बयान लिएकामध्ये अपराध स्वीकार गर्ने अभियुक्त एकजना मात्रै फेला परेका छन् । पोलिग्राफ परीक्षण गरिएकामध्ये ७५ प्रतिशत अभियुक्तको बयान झुटो रहेको पाइयो । प्रहरीका अनुसार उनीहरूले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै अपराध सकार्न मानेनन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भ्रष्टाचार अभियोगमा पक्राउ परेका अधिकांश अभियुक्तले बयानमै झुटो बोल्ने गरेको पोलिग्राफ परीक्षणबाट पुष्टि भएको बताए । ‘अनुसन्धान जटिल भएपछि पोलिग्राफ परीक्षणको सहयोग लिइन्छ । यस क्रममा भ्रष्टाचारमा संलग्न ३२ अभियुक्तविरुद्ध पोलिग्राफ परीक्षण भयो, जसमध्ये ७५ प्रतिशत अभियुक्तको बयान झुटो भएको देखियो,’ उनले भने ।

एक वर्षमा दुई सयजना घुससहित रंगेहात पक्राउ
अख्तियारले एक वर्षमा तीन सय ५१ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसमध्ये दुई सय अभियुक्त घुससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । जटिल देखिएका अनुसन्धानका लागि मात्र अख्तियारले पोलिग्राफ परीक्षणको सहारा लिएको थियो । यसका लागि नेपाल प्रहरीको उपत्यकास्थित महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई आग्रह गरिएको थियो । ‘अख्तियारले हामीकहाँ भ्रष्टाचारमा संलग्न ३२ अभियुक्त पठायो, जसमध्ये एक महिला थिए । हामीले यसमा प्राविधिक सहयोग ग(यौँ,’ एसएसपी ज्ञवालीले भने, ‘परीक्षण गर्दा दुईजनाले भने सत्य बोलेको भेटियो । तीनजनाले परीक्षण गर्न मानेनन् । एकजनाको परीक्षण गरिए पनि राय आउन सकेन । अर्का एकको भने परीक्षण नै हुन सकेन ।’

बलात्कार घटनामा सत्य बोल्ने धेरै
प्रहरीका अनुसार अनुसन्धान जटिल मोडमा पुगेपछि जबर्जस्ती करणीका १५ अभियुक्तलाई पोलिग्राफ परीक्षणका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रयोगशाला लगिएको थियो । जसमध्ये ६ अभियुक्तको बयान सत्य रहेको प्रहरीको भनाइ छ । पाँच अभियुक्तको बयान भने झुटो रहेको पाइयो । बाँकी तीनजनाको पोलिग्राफ परीक्षण नै हुन सकेन । घटनामा संलग्न अर्का एक अभियुक्तको भने राय निर्णयमा पुग्न नसकेको प्रहरी कार्यालयले जनाएको छ ।

चोरी गर्नेले अपराध स्विकार्छन्
प्रहरी कार्यालयका अनुसार चोरी घटनामा संलग्न अभियुक्तको पोलिग्राफ परीक्षण गर्दा अपराध स्विकार्ने धेरै भएको पाइएको छ । तथ्यांकअनुसार प्रयोगशालामा सहभागी चोरीका १७ अभियुक्तमध्ये १४ जनाले अपराध स्वीकार गरेका थिए । झुटो बोल्ने एकजना भेटिएको छ । बाँकी दुईको भने परीक्षणपछि पनि राय दिन सकिएको छैन ।

कार्यालयका अनुसार साइबर अपराधसम्बन्धी मुद्दाको अनुसन्धान जटिल मोडमा पुगेपछि दुई अभियुक्तलाई पोलिग्राफ परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तर, दुवै अभियुक्तले झुटो बयान दिएको प्रहरीको भनाइ छ । कर्तव्य ज्यानसम्बन्धी मुद्दा परेका सातमध्ये चार अभियुक्तले सत्य बोलेको, दुईले झुटो बोलेको र एकको परीक्षण हुन नसकेको पोलिग्राफ परीक्षणबाट देखिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।