१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परि दुई जना बेपत्ता, उद्धारमा ढिलाइ



अ+ अ-

दोलखा । उमेर जतिसुकै होस् मानिसलाई मृत्युसँग सधैं भय रहन्छ । यस्तै भयमा झन्डै चार घण्टा विताउनुभयो दोलखा गौरीशङ्कर गाउँपालिका–१ जुँगु झगडेकी ८३ वर्षीया जुनकीरी खत्रीले ।

शुक्रबार राति करिब १० बजे अविरल वर्षासँगै दोलखा गौरीशङ्कर गाउँपालिका–१ जुँगु यार्साको भीरबाट झरेको पहिरोले झगडेमा रहेको जुनकीरीको घरको चारैतिर तहसनहस बनायो, उहाँको घरको तल्लो तलामा पनि हिलो माटो र पानी पस्यो । भाग्ने कुनै सम्भावना नरहेको र अरु मानिस उद्दार गर्न आउने सम्भावना पनि नभएकाले जुनकीरी, उहाँको छोरा डम्बरबहादुर र बुहारी विन्दा खत्रीले झन्डै चार घण्टा मृत्युको भयमा विताउनुप¥यो । राति १ बजेतिर पानी कम भएपछि मात्र उहाँहरुको उद्दार हुन सकेको थियो ।

अविरल वर्षासँगै पहिरोले घर नै बगाउन थालेपछि आफू छोरालाई समातेर बसेको जेष्ठ नागरिक जुनकीरी खत्रीले बताउनुभयो । चार घण्टासम्म कतिखेर मरिने हो भन्ने भयमा हिलो र पानीमा डुबेर बस्नुपरेको जुनकीरी बताउनुहुन्छ ।

शुक्रबार राति १० बजेतिर पहिरो खस्न थालेपछि बाहिर निस्कन नसकेको र काठमाडौँमा फोन सम्पर्क गरी आफूहरु पहिरोको बीचमा परेको जानकारी गराएको जुनकीरीको छोरा डम्बरबहादुरले बताउनुभयो । पहिरो आउन्जेल बाहिर निस्कन पनि नसकेको र उद्दार गर्ने अवस्था पनि नरहेकाले आफूहरु चार घण्टासम्म त्रासमा रहेको डम्बरबहादुर बताउनुहुन्छ ।

बाढी र पहिरोका कारण २ जना बेपत्ता भएको र ११ घर पुरिएको स्थानीयको भनाइ छ । पहिरोले ८० भन्दा बढी घरहरु जोखिममा परेको स्थानीय बताउँछन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गौरीशङ्कर गाउँपालिका–२ जुँगुमा पर्ने जुँगुखोलाले स्थानीय १९ वर्षीय निसान खड्का र वडा नम्बर १ का ५६ वर्षीय जगत्बहादुर खत्रीलाई बगाएको हो । उहाँहरु दुवै जना बेपत्ता हुनुहुन्छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयले उहाँहरुको खोजी गरिरहेको भए पनि हालसम्म फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

निसान खड्कालाई जुँगुखोलामा सवारीसाधनमा फसेको यात्रुलाई उद्धार गर्ने क्रममा बगाएको थियो भने जगत्बहादुर खत्रीलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको स्थानीयको भनाइ छ ।

अविरल वर्षापछि जुँगु यार्साको भीरबाट बगेको पहिरोले झगेडेको डम्बरबहादुर खत्री तथा दीपक खत्रीको दुई दुई घर र राजन खत्री, बालकृष्ण खत्री, गौरव खत्री, बलबहादुर खत्री, नवराज खत्री को एक एक घर पुरिएको छ । त्यसै गरी बिरौसीको गंगा खत्रीको एउटा र अर्को एउटा गरी दुईवटा घर पुरिएको स्थानीयले बताए ।

पहिरो खस्दा तीन चारवटा घरका नौ जना घरभित्र नै थुनिएका थिए । उनीहरु सबैको राति एक बजेपछि मात्र उद्दार हुन सकेको थियो । अन्य घरहरु भने भर्खर बनेकाले मानिस बसिनसकेको स्थानीयको भनाइ छ । रातभरि पहिरो आउँदा पनि आफूहरु भाग्यले बाँच्न सकेको स्थानीय चित्रमाया खत्री बताउनुहुन्छ ।

शनिबार पनि बर्षा निरन्तर भइरहेकाले वडा नम्बर १ र २ जुँगुको झगडे, यार्सा, बिरौसीको झण्डै ८०/९० घरका बासिन्दालाई नजिकको नीलकण्ठेश्वर मावि र अन्य सुरक्षित ठाउँमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

पहिरोबाट विस्थापितलाई बैतेश्वर गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी दोलखालगायतले त्रिपाल, चाउचाउ, बिस्कुट उपलब्ध गराएको छ । पहिरोबाट प्रभावित झगडेमा पूर्वराज्यमन्त्री, नेकपा दोलखाको इन्चार्ज स्थानीय देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, तामाकोसी गाउँपालिकाका प्रमुख एवं नेकपा दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा, तारादल गणका गणपति निखिल कुँवर, प्रहरी नायब उपरीक्षक मानबहादुर राई, सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायत, गौरीशङ्कर गाउँपालिकाको उपप्रमुख उर्मिला थामी, बैतेश्वर गाउँपालिकाको उपप्रमुख रवि आचार्य, नेपाल रेडक्रस जिल्ला शाखा दोलखाको सभापति गोकर्ण पोखरेललगायत पुग्नुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।