काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको अग्रसरतामा सरकारले वार्षिक करिब ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाका लागि इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा, विस्तृत विवरण र कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको हो।
मन्त्री चौधरीका अनुसार सरकारको लक्ष्य वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको छ। भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिने उनले बताएकी छन्।
मन्त्रालयले आह्वान गरेका प्रस्तावको मूल्याङ्कनबाट हरित युरिया उत्पादनका लागि उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता तथा आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुने अपेक्षा गरेको छ। प्रस्तावको मूल्याङ्कनपछि प्लान्ट स्थापनाको उपयुक्त मोडालिटी तय गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
हरित युरिया उत्पादन उद्योग स्थापनामा इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट प्रस्तावसम्बन्धी अवधारणा तथा कार्यविधिको विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्।
इच्छुक आवेदकले आगामी मंसिर १३ गते साँझ ५ बजेसम्म मन्त्रालयमा भौतिक रूपमा प्रस्ताव बुझाउन वा greenurea@moafe.gov.np इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।








