अचानक भोटेकोशीमा आएको बाढीसँगै
मेरा आँखामा पनि बाढी आयो,
र बगाएर लग्यो
तिमीसँग जोडिएका कैयौँ यादहरू।
जसरी चप्पलहरू बगेर गए,
उसैगरी बगेर गए मेरा सपनाहरू,
र तल बगरमा असरल्ल परे
मेरा रगतका थोपाहरू।
तिमीले
आफ्नो घर बगेको पनि देख्न पाएनौ,
आफूलाई मन पर्ने फूल
चुँडिएको पनि देख्न पाएनौ।
तिमीलाई नियतिले डुबायो,
मलाई तिम्रा यादहरूले रुवायो।
तर पनि,
मेरो आश अझै मरेको छैन।
म त्यही आशामा बाँचेको छु।
एक दिन फेरि घर बनाउनेछु,
बगैँचा सजाउनेछु।
आँगनमा कुकुरका छाउराहरू
मसँग झुत्तिनेछन्,
गाईका बाछाहरू उफ्रिनेछन्,
र म दैलोमा बसेर
छोराछोरीलाई कुरिरहनेछु।
म अझै त्यही आशामा छु
कि तिमी एक दिन आउनेछौ,
जसरी बादल आकाशमा आउँछ
र फेरि फर्किन्छ
समुद्रतिर।
मलाई थाहा छ,
बाढीले घर बगाउन सक्छ,
सपना बगाउन सक्छ,
सम्झनाका किनाराहरू भत्काउन सक्छ।
तर
आश अझै बगेको छैन।
आश अझै मरेको छैन।
भोटेकोशी बाढी प्रभावितहरूमा समर्पित








