छडीलाई मानिसहरूले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छन्। यसलाई स्थानीय भाषाअनुसार फरक–फरक नामले चिनिन्छ। कतै लाठी, लौरो, डण्डा, घोचो, सोठ्ठा, छडी र सिर्कनोजस्ता नामले चिनिने छडी मानिसलाई सहारा दिने एउटा महत्त्वपूर्ण साधन हो।
वृद्धवृद्धा, भारी बोक्ने भरिया तथा पैदलयात्रीहरू छडीको सहारामा उकाली–ओराली गर्छन्। गोठालाहरू हातमा छडी लिएर गाईवस्तु खेदाउँछन् भने प्रहरीले गस्ती गर्न र भीड नियन्त्रण गर्न छडी प्रयोग गर्छन्। त्यसैगरी, विश्वभरका दृष्टिविहीन व्यक्तिहरू आवागमनका लागि सेतो छडीको प्रयोग गर्छन्।
सेतो छडी विश्वभरका दृष्टिविहीन व्यक्तिको पहिचान र सुरक्षित आवागमनको महत्त्वपूर्ण साधन हो। सेतो छडी बोकेर हिँडिरहेको व्यक्तिलाई देखेपछि अन्य मानिसहरूले उनी दृष्टिविहीन हुन सक्ने बुझ्न सक्छन्। यसको सहायताले दृष्टिविहीन व्यक्तिहरू आफ्नो गन्तव्यसम्म पुग्न तथा दैनिक क्रियाकलाप सञ्चालन गर्न सक्छन्। त्यसैले सेतो छडी उनीहरूका लागि वरदान साबित भएको छ।
विश्वभरका दृष्टिविहीन व्यक्तिहरूले सेतो छडी प्रयोग गर्ने भए पनि विभिन्न देश र भाषामा यसलाई फरक–फरक नामले चिनिन्छ। नेपाल र भारतमा यसलाई ‘सेतो छडी’ भनिन्छ भने अंग्रेजीमा ‘ह्वाइट केन’ (White Cane) भनिन्छ।
सेतो छडी दृष्टिविहीन व्यक्तिको स्वतन्त्र आवागमनका लागि महत्त्वपूर्ण सहायक साधन हो। यसको सही प्रयोग गर्न जानेमा बाटोमा हुने दुर्घटनाको जोखिम कम गर्न सकिन्छ। त्यसैले सेतो छडी प्रयोग गर्ने विधिबारे तालिम लिएर मात्र यसको प्रभावकारी उपयोग गर्नुपर्छ। सेतो छडी प्रयोग गरी सुरक्षित रूपमा हिँड्ने सीपलाई नेपालीमा ‘गमनशीलता तालिम’ र अंग्रेजीमा ‘मोबिलिटी ट्रेनिङ’ (Mobility Training) भनिन्छ। दृष्टिविहीन व्यक्तिका लागि सेतो छडी सधैँ साथमा हुनु आवश्यक छ।
सेतो छडी लामो वा छोटो, गह्रौँ वा हलुका, पट्याउन मिल्ने वा नमिल्ने तथा जमिनमा टेकाएर वा गुडाउँदै प्रयोग गर्न मिल्ने विभिन्न आकार र प्रकारमा उपलब्ध हुन्छन्। सामान्यतया सेतो छडी आल्मुनियमलगायतका सामग्रीबाट निर्माण गरिन्छ। यसको माथिल्लो भागलाई ग्रिप भनिन्छ, जुन समात्ने ठाउँ हो। यो भाग प्रायः रबरले ढाकिएको हुन्छ र यसको रङ कालो वा हरियो हुन सक्छ।
छडीको बीचको मुख्य भाग सेतो रङको हुन्छ। यही भाग सेतो भएकाले यसलाई सेतो छडी भनिएको हो। टाढैबाट देख्न सकिने सेतो रङले दृष्टिविहीन व्यक्तिको पहिचान गर्न र उनीहरूलाई आवश्यक सहयोग प्रदान गर्न अन्य मानिसलाई सहज बनाउँछ। छडीको तल्लो भागलाई टिप भनिन्छ। जमिनमा छुने यो भागले बाटोमा रहेका वस्तु तथा सतहको अवस्थाबारे जानकारी लिन सहयोग गर्छ। छडीको टिप जमिनमा ठोक्किँदा वा घस्रिँदा उत्पन्न हुने कम्पन र स्पर्शका माध्यमबाट दृष्टिविहीन व्यक्तिले बाटोमा रहेका अवरोध तथा सतहको अवस्थाबारे अनुमान गर्न सक्छन्।
नेपालमा सेतो छडी उत्पादन नहुने वा पर्याप्त रूपमा उपलब्ध नहुने भएकाले भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ। महँगो मूल्य र सर्वसुलभ उपलब्धताको अभावका कारण देशभरका सबै दृष्टिविहीन व्यक्तिको पहुँचमा सेतो छडी पुग्न सकेको छैन। लामो समयसम्म टिकाउ नहुने, टिप खिइने, इलास्टिक कमजोर भएर चुँडिने, साइकल तथा मोटरसाइकलजस्ता सवारीसाधनले भाँचिदिने र मानिससँग ठोक्किँदा बाङ्गिने जस्ता समस्याले यसको प्रयोगमा कठिनाइ उत्पन्न गरेका छन्। एउटा सेतो छडीको मूल्य करिब एक हजार रुपैयाँसम्म पर्ने भएकाले बिग्रिएपछि बारम्बार नयाँ छडी किन्नु आर्थिक रूपमा महँगो पर्छ।
‘नेपाल दृष्टिविहीन कल्याण संघ’ले विगतमा स्थानीय सामग्री प्रयोग गरेर सेतो छडी निर्माण तथा वितरण गर्ने प्रयास गरेको थियो। २०५० को दशकतिर निगालो वा अन्य स्थानीय सामग्रीबाट छडी बनाउने प्रयास गरिए पनि ती छडी छिट्टै भाँचिने, फुटेर हात काट्न सक्ने र पट्याउन नमिल्ने समस्याका कारण प्रभावकारी हुन सकेनन्।
सेतो छडीको आविष्कार र प्रयोगको इतिहासबारे विभिन्न मत पाइन्छन्। प्रचलित विवरणअनुसार, सन् १९२० को दशकमा दुर्घटनापछि दृष्टिविहीन भएका फोटोग्राफर जेम्स बिग्सले सडकमा आफ्नो उपस्थिति सहजै पहिचान गराउन र सवारीसाधनबाट सुरक्षित रहन सामान्य लठ्ठीमा सेतो रङ लगाएर प्रयोग गरेका थिए। त्यसैगरी, सन् १९३१ तिर फ्रान्सेली महिला गुइली डी’हर्बेमोँले दृष्टिविहीन व्यक्तिहरूलाई व्यस्त सडक पार गर्न सहज होस् भन्ने उद्देश्यले फ्रान्समा राष्ट्रिय सेतो छडी अभियान सुरु गरेको उल्लेख पाइन्छ। उक्त अभियानले सेतो छडीलाई दृष्टिविहीन व्यक्तिको पहिचान र सुरक्षित आवागमनको साधनका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।
सेतो छडीको प्रयोगलाई व्यवस्थित बनाउन अमेरिकी चिकित्सक रिचार्ड ई. हूभरले विकास गरेको ‘हूभर विधि’ पनि महत्त्वपूर्ण मानिन्छ। विशेषगरी दोस्रो विश्वयुद्धपछि दृष्टिविहीन सैनिकहरूको पुनःस्थापना र सुरक्षित आवागमनका लागि लामो छडीको प्रयोग तथा त्यससम्बन्धी तालिमलाई व्यवस्थित बनाउने काम भएको थियो। सेतो छडीको महत्त्वबारे जनचेतना जगाउन र दृष्टिविहीन व्यक्तिको अधिकार तथा सम्मान स्थापित गर्न प्रत्येक वर्ष अक्टोबर १५ मा विश्व सेतो छडी दिवस मनाइन्छ।
नेपालका सडक, सार्वजनिक यातायात र नागरिकको व्यवहार दृष्टिविहीनमैत्री नहुँदा उनीहरूले आवागमनका क्रममा अनेकौँ बाधा र चुनौती सामना गर्नुपरेको छ। यस्ता कठिनाइका कारण केही दृष्टिविहीन व्यक्ति घरबाहिर निस्कने प्रयास गर्दागर्दै निराश भएर घरभित्रै सीमित हुन बाध्य भएका छन्। यसले उनीहरूको व्यक्तिगत विकास, सामाजिक घुलमिल र अवसरमा पहुँचलाई समेत प्रभावित पारेको छ।
सडक तथा बाटोघाटोमा खाल्डाखुल्डी हुनु, पानी जम्नु, आज राम्रो अवस्थामा रहेको बाटो भोलिपल्टै खनिनु र खनिएको स्थानमा खतराको संकेत नराखिनु दृष्टिविहीन व्यक्तिका लागि जोखिमपूर्ण अवस्था हुन्। कतिपय अवस्थामा बाटोमा अवरोध भएको जानकारी वरपरका मानिसले नदिँदा उनीहरू दुर्घटनामा पर्न सक्छन्। हिँड्ने क्रममा बाटो पहिचान गर्न कठिनाइ हुँदा उनीहरू अलमलिन सक्छन्। यस्तो अवस्थामा कतिपय मानिसले उनीहरूलाई हेरेर हाँस्ने वा ‘बिचरा’ भन्ने गरे पनि आवश्यक सहयोग गर्न अघि सर्दैनन्।
सहयोग गर्न खोज्ने कतिपय व्यक्तिले समेत दृष्टिविहीन व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने जानकारी नहुँदा उनीहरूले प्रयोग गरिरहेको सेतो छडी समातेर डोर्याउने गर्छन्। वास्तवमा, सहयोग आवश्यक छ कि छैन भनेर सोधेर अनुमति लिनुपर्छ। सहयोग आवश्यक भएमा दृष्टिविहीन व्यक्तिलाई सहयोग गर्ने व्यक्तिको पाखुरा समात्न लगाएर डोर्याउनु उपयुक्त हुन्छ। यसरी सहयोग गर्दा बाटोमा रहेका खाल्डाखुल्डी, खम्बा, पार्क गरिएका सवारीसाधन, सुतिरहेका कुकुर वा अन्य अवरोधबारे जानकारी दिनु पनि आवश्यक हुन्छ।
अव्यवस्थित रूपमा पार्क गरिएका सवारीसाधन, भत्किएका सडक, खुला ढल तथा सेफ्टी ट्याङ्की, भत्किएका पर्खाल र पुलका बारजस्ता संरचनाले दृष्टिविहीन व्यक्तिको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गर्छन्। समयमै मर्मतसम्भार नहुँदा उनीहरू लड्ने, चोटपटक लाग्ने वा खोलानदीमा खस्नेसम्मका दुर्घटना हुन सक्छन्। बाटो काट्ने क्रममा सहयोग नपाउनु, जेब्रा क्रसिङ पहिचान गर्न कठिन हुनु र सडक पार गर्दा संकेत दिने ध्वनियुक्त उपकरण नहुनु पनि प्रमुख समस्या हुन्।
सार्वजनिक यातायातको प्रयोगमा समेत दृष्टिविहीन व्यक्तिले कठिनाइ भोगिरहेका छन्। बस बिसौनीमा सवारीसाधन नरोक्ने, निर्धारित स्थानभन्दा टाढा रोक्ने र ओर्लिने स्थानबारे जानकारी नदिने प्रवृत्तिले उनीहरूलाई समस्या पारेको छ। दृष्टिविहीन व्यक्तिहरूका लागि बनाइएका सडकपेटीसमेत पर्याप्त चौडा र अवरोधरहित छैनन्। त्यस्ता पेटीमा पसल सञ्चालन गर्ने, मानिसहरू उभिएर कुराकानी गर्ने तथा मोटरसाइकल र स्कुटर पार्क गर्ने गर्दा हिँडडुलमा अवरोध पुग्छ। पेटीमा रहेका खम्बा, रुख र अन्य संरचनाले पनि आवागमन कठिन बनाउँछन्।
सडकपेटीमा दृष्टिविहीन व्यक्तिलाई बाटो पहिचान गर्न सहयोग गर्ने उद्देश्यले पहेँलो रङका विशेष ब्लक राखिए पनि तिनको प्रभावकारी व्यवस्थापन र प्रयोगबारे पर्याप्त जानकारी पुग्न सकेको छैन। निर्माण गरिएका संरचना अवरोधरहित राख्ने, तिनको निरन्तर मर्मत गर्ने र सर्वसाधारणलाई तिनको महत्त्वबारे जानकारी दिने काम आवश्यक छ। सडकमा छाडिएका वा बेवारिसे कुकुरले समेत दृष्टिविहीन व्यक्तिलाई जोखिममा पार्न सक्छन्। त्यसैले सार्वजनिक स्थानलाई सुरक्षित र पहुँचयोग्य बनाउनु आवश्यक छ।
सेतो छडीले आफैँ बाटो देखाउँछ वा दृष्टिविहीन व्यक्तिहरू पाइला गनेर हिँड्छन् भन्ने गलत धारणा पनि समाजमा पाइन्छ। वास्तवमा, सेतो छडीको प्रयोगले बाटोमा रहेका अवरोध, सतहको अवस्था र दिशाबारे जानकारी लिन मद्दत गर्छ। छडीको सही लम्बाइ र प्रयोग विधि व्यक्तिको उचाइ, आवश्यकता तथा तालिमअनुसार फरक हुन सक्छ। त्यसैले उपयुक्त छडीको छनोट र सही प्रयोगसम्बन्धी तालिम महत्त्वपूर्ण हुन्छ।
सार्वजनिक यातायातका साधनको सञ्चालनमा देखिएका कमजोरीले पनि उनीहरूलाई समस्यामा पारेका छन्। बस बिसौनीबीचको दूरी धेरै हुनु, निर्धारित स्थानमा सवारीसाधन नरोकिनु र घरनजिकै चढ्न वा ओर्लिन नपाउँदा दृष्टिविहीन व्यक्तिहरूलाई गन्तव्यसम्म पुग्न कठिन हुन्छ। लामो दूरीका सवारीसाधनमा समेत उनीहरूले आफूलाई अनुकूल हुने स्थानमा चढ्न वा ओर्लिन नपाउँदा बाटोमा अलमलिने र थप समय खर्च गर्नुपर्ने अवस्था आउँछ।
अपाङ्गता भएका व्यक्तिका लागि कानुनले सार्वजनिक यातायातमा भाडा छुट तथा आरक्षित सिटको व्यवस्था गरे पनि यसको कार्यान्वयनमा समस्या देखिन्छ। सेतो छडी बोकेको देख्दादेख्दै पनि कतिपय चालकले सवारीसाधन नरोक्ने गरेका छन्। आरक्षित सिटमा अन्य यात्रु बस्ने र दृष्टिविहीन व्यक्तिलाई सिट छाड्न आनाकानी गर्ने प्रवृत्तिले उनीहरूलाई थप कठिनाइ हुन्छ। कतिपय छोटो दूरीका सवारीसाधनका चालक तथा सहचालकले ओर्लिने स्थानबारे जानकारी नदिँदा उनीहरू अन्योलमा पर्छन्।
केही आधुनिक सार्वजनिक सवारीसाधनमा बस बिसौनीको जानकारी दिने उपकरण जडान गरिएकाले दृष्टिविहीन व्यक्तिलाई केही सहज भएको छ। तर, त्यस्ता उपकरण बिग्रिएपछि समयमै मर्मत नहुँदा समस्या कायम रहन्छ। त्यसैले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउन उपकरण जडान गर्नुका साथै तिनको नियमित मर्मत र प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्छ।
यद्यपि समाजमा सहयोगी र संवेदनशील व्यक्तिहरू पनि छन्। उनीहरूले आफ्नो क्षमताअनुसार दृष्टिविहीन व्यक्तिलाई बाटो काट्न सहयोग गर्ने, आवश्यक परे निजी सवारीसाधनमा गन्तव्यसम्म पुर्याउने तथा सार्वजनिक यातायातमा चढ्न र ओर्लिन मद्दत गर्ने गरेका छन्। केही चालक तथा सहचालकले सवारीसाधन रोकेर उनीहरूलाई सम्मानपूर्वक सहयोग गरेको पनि पाइन्छ। यस्ता मानवीय व्यवहारले दृष्टिविहीन व्यक्तिलाई आत्मविश्वासका साथ समाजमा घुलमिल हुन मद्दत पुर्याउँछन्।
दृष्टिविहीन व्यक्तिले भोग्नुपरेका अधिकांश समस्याको प्रमुख कारण जनचेतनाको अभाव, जिम्मेवार निकायको उदासीनता र विद्यमान नियम–कानुनको प्रभावकारी कार्यान्वयन नहुनु हो। त्यसैले यस विषयमा जनचेतना अभिवृद्धि गर्न विद्यालय तहको पाठ्यक्रममा अपाङ्गता भएका व्यक्तिका अधिकार, आवश्यकता र सम्मानजनक व्यवहारसम्बन्धी विषय समावेश गर्नुपर्छ। सञ्चारमाध्यमले पनि आफ्नो जिम्मेवारी बुझेर नियमित रूपमा जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्छ। ट्राफिक प्रहरीलाई दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमन र सहयोगसम्बन्धी तालिम दिनुका साथै चालक अनुमतिपत्रको परीक्षामा यससम्बन्धी प्रश्न समावेश गर्न सकिन्छ।
स्थानीय तह तथा सम्बन्धित सरकारी निकायले सडक, सडकपेटी, जेब्रा क्रसिङ, पुल, सार्वजनिक यातायात र अन्य पूर्वाधारलाई दृष्टिविहीन तथा समग्रमा अपाङ्गतामैत्री बनाउन प्राथमिकता दिनुपर्छ। सडक निर्माण र मर्मत गर्दा दृष्टिविहीन व्यक्तिको आवश्यकतालाई ध्यान दिनुका साथै निर्माणस्थलमा स्पष्ट चेतावनी संकेत राख्नुपर्छ। सार्वजनिक यातायातमा आरक्षित सिट, भाडा छुट र निर्धारित बिसौनीको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।
अन्ततः, घरबाट बाहिर निस्किँदा, बाटोघाटोमा हिँड्दा वा सहर–बजार जाँदा सेतो छडी बोकेर हिँडिरहेको व्यक्ति देख्नुभयो भने उहाँ दृष्टिविहीन हुन सक्ने कुरा बुझ्नुहोस्। सेतो छडी दृष्टिविहीन व्यक्तिको पहिचान र सुरक्षित आवागमनको महत्त्वपूर्ण साधन हो।
उहाँहरूलाई आवश्यक परे सहयोग गर्नुहोस्, तर सहयोग गर्नुअघि सोध्नुहोस्। बाटो काट्न, बस चढ्न वा ओर्लिन तथा जोखिमयुक्त स्थान पार गर्न सहयोग गर्नुहोस्। सवारीसाधन चलाउँदा र सार्वजनिक स्थानमा काम गर्दा सेतो छडी बोकेका व्यक्तिको सुरक्षालाई प्राथमिकता दिनुहोस्।
दृष्टिविहीन व्यक्तिलाई दया होइन, सम्मान, समान अवसर र सहज पहुँच आवश्यक छ। उनीहरूलाई सुरक्षित रूपमा आवागमन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व हो। आउनुहोस्, सेतो छडीको सम्मान गरौँ, दृष्टिविहीन व्यक्तिको अधिकार सुनिश्चित गरौँ र सबैका लागि सुरक्षित, सहज तथा समावेशी समाज निर्माणमा योगदान गरौँ।
लेखक बलराम ज्ञवाली भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरीमा नेपाली शिक्षक हुनुहुन्छ ।








