काठमाडौं । सरकारले चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायत अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाडपर्वका समयमा अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।
उनका अनुसार चाडपर्वका बेला नागरिकले अत्यावश्यक सेवा प्राप्त गर्न अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्न भनिएको छ ।
स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पताललगायतका सेवाहरू निरन्तर सञ्चालन गर्न केन्द्रीय अनुगमन समितिबाट निर्णय भएको र त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचारसमेत गरिएको प्रवक्ता अर्यालले बताए ।
यसैगरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्न लगानीसम्बन्धी सेवालाई सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ को मस्यौदा तयार भइरहेको छ ।
उक्त कार्यविधिले लगानीसम्बन्धी प्रक्रियालाई व्यवस्थित र सहज बनाउनुका साथै सेवा प्रवाहमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ । लगानी प्रक्रियालाई थप प्रभावकारी बनाउँदा स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि हुने विश्वास सरकारले लिएको उनले बताए ।








