लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका-८ का ३७ वर्षीय राजकुमार चौधरीको भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार आज बिहान आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भिरबाट करिब २० मिटर तल खसेका थिए । भिरबाट खसेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।
उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । चौधरीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको जनाउँदै पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । रासस








