काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले मुस्ताङसँग जोडिएको नेपाल–चीन सीमा क्षेत्रको दुईदिने स्थलगत भ्रमण गरेका छन्।
राजदूत चाङले लिजी–नेचुङ र कोरोला नाकाको स्थलगत अध्ययन तथा चीनतर्फका सीमा क्षेत्रको पूर्वाधार निरीक्षण गरेका हुन्। भ्रमणका क्रममा उनले तिब्बत स्वायत्त क्षेत्र, सिगात्से सहर, झोङ्बा काउन्टी तथा सीमा नाकामा कार्यरत अधिकारीहरूसँग छलफल गरेका थिए।
चिनियाँ दूतावासका अनुसार छलफलमा लिजी–नेचुङ नाकाको उच्च गुणस्तरीय विकास, नेपाल–चीनबीचको आवतजावत सहज बनाउने तथा द्विपक्षीय व्यापार प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो।
भ्रमणका क्रममा राजदूत चाङले नेपालको मुस्ताङतर्फ रहेको कोरोला नाकाको अवस्था, स्थानीय सामाजिक परिस्थिति तथा सर्वसाधारणको धारणा पनि बुझेका थिए। उनले स्थानीय सरकार, सुरक्षा निकाय तथा भन्सार कार्यालयका अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
भेटवार्तामा नेपालतर्फको सीमा नाका तथा भौतिक पूर्वाधार, आपसी सम्पर्क र सेवा–सुविधाको क्षमता विस्तारका लागि नेपाल र चीनले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिइएको थियो। नेपाली अधिकारीहरूले पनि यस विषयमा सहमति जनाएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार सीमा नाकाको पूर्वाधार तथा सञ्चालन क्षमता अभिवृद्धि गर्दै नेपाल–चीनबीच मानिसको आवतजावत र व्यापारलाई थप सहज बनाउने तथा दुवै देशका जनतालाई लाभ पुर्याउने उद्देश्यले राजदूत चाङले उक्त क्षेत्रको भ्रमण गरेका हुन्।
भ्रमणपछि राजदूत चाङ आज करिब १० घण्टाको स्थल यात्रामार्फत सिगात्से पुगेका छन्। उनी भोलि हिमालय एअरलाइन्सको उडानबाट ल्हासा हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।








