महिला माथि भएको हिंसाको अनुसन्धान तथा समाचारको फोटो, चित्र वा थम्बनेलमा एउटी महिला डरले काँपिरहेको देखिन्छ। एआई निर्मित चित्रमा आँसु झारिरहेको, हातले अनुहार छोपिरहेको, अँध्यारो कोठामा एक्लै बसेको महिला देखाइन्छ। यी सामाग्रीमा प्रभावित महिलाको अनुहार देखाएको हुदैन तर उनको शरीरलाई असहाय, कमजोर वा यौनिक रूपमा प्रस्तुत गरिएको हुन्छ।
यि सबै दृश्य र यस सम्बन्धि तथ्यमा महिलाका पक्षमा न्याय प्राप्ति तथा पीडकलाई दण्डका लागि वकालत गरिएको हुन्छ। तर महिलाको पक्षमा वकालत गरिएको भनिएका यि दृश्यहरुमा उनको छविलाई झन कमजोर रुपमा प्रस्तुत गरेर उनी माथि थप हिंसा गरिएको हुन्छ।
महिलामाथि हिंसा भयो, बलात्कार भयो, घरेलु हिंसा भयो, मानव बेचबिखन भयो, कार्यस्थलमा यौन दुर्व्यवहार भयो, अनलाइन हिंसा भयो, अधिकार खोसियो, न्याय माग्दै महिला अदालत पुगिन्, सडकमा उभिइन्, मिडियासामु बोलिन्। यि सबै हाम्रा तथ्य हुन् र हामी यि घट्नाको विरुद्धमा र प्रभावित महिलाको न्यायको पक्षमा तथा अपराधीलाई दण्डको पक्षमा सदैव हुन्छौ। तर सानो संवेदनशिलता नअपनाउँदा यस सम्बन्धि छापिएका सामाग्रीले ति महिलालाई मानसिक र सामाजिक रुपमा थप प्रताडित बनइरहेको हुन्छ।
प्रभावित नै भएपनि हिंसा विरुद्ध बोल्ने, न्यायको लडाईं लड्ने तथा अनुसन्धानमा वा मिडियामा बाहिर आएर बोल्ने महिला साहसी महिला हुन्। तर किन तिनै विषय समेटिएको अध्ययन तथा समाचारमा फोटो, स्केच र चित्रमा महिलालाई कमजोर देखाइन्छ? किन त्यहाँ साहसी, योद्धा, पीडक विरुद्ध हुंकार गरिरहेको दृश्यचित्र तथा उनलाई पीडा पुर्याउने पक्ष निरिह कमजोर र अदालतबाट दण्डित भएको दृश्यचित्र देखाइदैन?
महिला विरुद्ध भएका हिंसा र विभेद माथि धेरै अनुसन्धानहरु भएका छन्। समाचारहरु बनेका छन्। यि मध्ये प्राय: सबैमा महिलाको दृश्यचित्र कमजोर र असहाय छ। हालै ‘नो सेफ प्लेस बिहाइन्ड द स्क्रिन: ह्वाई अनलाईन भ्वाइलेन्स इन नेपाल गोज अनरिपोर्टेड’ अर्थात अनलाईनमा हुने हिंसाका घट्ना किन रिपोर्टिङ हुदैन भन्ने शिर्षकमा प्रेरणा सुवेदी र राजशी निरौलाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। उहाँहरुले गहन अध्ययन तथा विश्लेषण गर्दै घट्नालाई मिहिन ढंगमा केलाएर किन रिपोर्टिङ हुदैन भनेर निष्कर्ष निकाल्नु भएको छ। समाचारहरुमा आए अनुसार उहाँहरुले अनुसन्धानका सबै विधि प्रक्रिया पुर्याएर तथ्य तथ्यांकको विश्लेषण गर्नुभएको छ। प्रतिवेदनमा आएका केस इस्टडिज र निष्कर्षले गम्भिररुपमा सोच्न तथा नीति र व्यवहार परिवर्तनमा लाग्न प्रेरित गरेको छ।
तर यो प्रतिवेदन र यस सम्बन्धि समाचार तथा भर्च्युअल नेटवर्कमा शेयर गरिएका कन्टेन्टमा एउटी महिला मोबाइल फोनको अगाडी निरिह भएर घुँडामा टाउको राखेर निहुरिएको र एकजना पुरुषले उनि माथि औंला ठड्याइरहेको अनि उनलाई हेरेर गिज्याईरहेका वा हाँसेर जिस्काइरहेका इमोजी राखिएको छ। यो दृश्यचित्रले महिलालाई निरिह र कमजोर तथा हाँसोको पात्र देखाएको छ । यसैगरी अर्को दृश्यचित्रमा साइबर व्युरोमा उजुरी दिन गएकी महिलालाई हेरेर ढोकामा उभिएका प्रहरी हाँसिरहेको अनि उजुरी लिएर आएकोमा कोही रिसाएको, गिज्याएको, खिसी गरेको जस्ता इमोजिहरु राखिएका छन्। यि दुबै दृश्यचित्रले महिलालाई कमजोर तथा हाँसो र सामाजिक खिसिटिउरीको पात्रका रुपमा प्रस्तुत गरेको छ। जुन गलत हो।
यो अध्ययन पछिल्लो उदाहरण भएको र अहिले भर्च्युअल नेटवर्कमा ताजाताजा चर्चामा रहेकाले उदाहरणका रुपमा लिइएको हो। यस्ता उदाहरण धेरै छन् र प्राय: हरेकमा यस्तै अवस्था छ।
महिलामाथि भएको हिंसाविरुद्ध आवाज उठाउनु आवश्यक छ। पीडकलाई कानुनी कारबाही हुनुपर्छ। पीडितलाई न्याय र प्रभावितलाई आवश्यक संरक्षण, पुनःस्थापना र सम्मान दिनुपर्छ। तर न्यायको आवाज उठाउने नाममा पीडितलाई बारम्बार ‘अबला’, ‘डराएकी’, ‘रोइरहेकी’ र ‘टुटेकी’ महिलाका रूपमा देखाइरहने दृश्यचित्र आफैँमा अर्को किसिमको विभेद हो।
युनेस्कोको प्रकाशन ‘जेन्डर सेन्सेटिभ इन्डिकेटर्स फर मिडिया’ मा मिडियाले समाजमा लैंगिक मान्यता, भूमिका र स्टेरियोटाइप चरित्र निर्माण तथा प्रभाव पार्ने सामग्री राख्ने गरेको उल्लेख छ। प्रतिवेदनले समाचार, विज्ञापन र मिडिया संस्थाभित्रको अभ्यासलाई लैंगिक दृष्टिकोणबाट हेर्नुपर्ने कुरा उठान गरेको छ ।
लैंगिक हिंसाका समाचार र भर्चुअल नेटवर्कको कन्टेन्टको परम्परागत दृश्य सूत्र के हो भने प्रभावित महिलाको समाचार हो भने उनी रोइरहेकी देखाउनै पर्छ। आँसु, च्यातिएको कपडा, डराएको अनुहार, अँध्यारो कोठा, भुइँमा बसेकी, आँखा जुधाउन नसकेर घोप्टो परेकी महिला, पुरुषको ठूलो छायाँ र महिलाको सानो आकृति। पुरुषको आक्रमण गर्न खोजेको वा रोक्न खोजेको जस्तो हातको ठुलो पञ्जा अनि त्यसको मुनि निरिह महिला।
यी दृश्यहरूले घटनाको गम्भीरता त बुझाउलान तर पटक–पटक यही दृश्य प्रयोग हुँदा सन्देश चाँही के गइरहेको छ भने, महिला भनेको कमजोर, असहाय र संरक्षण चाहिने व्यक्ति हो।
जबकि हिंसाबाट प्रभावित महिला केवल ‘प्रभावित/पीडित’ मात्र होइनन्। उनी नागरिक हुन्। उनी मौलिक हक प्राप्त व्यक्ति हुन्। उनमा साहस र लड्ने क्षमता छ। आजसम्म जति पनि पीडकले सजाय पाएका छन् प्रभावित महिलाको अदम्य साहसकै कारण पाएका छन्। उनी निर्णय गर्न सक्छिन्। उनी प्रतिरोध गर्न सक्छिन्। उनी न्याय खोज्न सक्छिन्। उनी आफ्नो कथा आफैँ भन्न सक्छिन्। उनी पीडक विरुद्ध आक्रोश व्यक्त गर्न सक्छिन्। हुँकार गर्न सक्छिन र न्यायको कठघरामा उभ्याएर दण्डित गर्न सक्छिन।
यसकारण समाचार होस वा अध्ययन प्रतिवेदन वा भर्च्युअल नेटवर्कका कन्टेन्ट नै किन नहुन प्रभावित महिलालाई झन कमजोर बनाउने दृश्यचित्र बनाउन बन्द गर्नै पर्छ । नेपाल प्रेस काउन्सिलको पत्रकार आचारसंहिताले पनि लिंगका आधारमा विभेद नगर्न, पीडितलाई थप पीडा हुने गरी भाषा, तस्वीर वा दृश्य प्रयोग नगर्न तथा यौन अपराधका पीडितको पहिचान गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ। आचारसंहिताको दफा ५ मा पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सुचनाको संप्रेषण गर्न नहुने उल्लेख गरेको छ । जसमा भनिएको छ, “पत्रकार तथा सञ्चारमाध्यमले यौन अपराध वा सामाजिक विभेद तथा घृणाका कारण उत्पन्न घटना वा मानवताविरोधी अपराधबाट प्रभावित व्यक्ति वा पीडित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन।”
एउटी प्रभावित महिलामाथि के भयो? भन्ने विषय पीडाको विषय होला। त्यो बाहेक उनले लडेको न्यायको लडाँई साहसको विषय हो। उनले न्यायका लागि गरेको संघर्ष? उनलाई प्रणालीले सहयोग गरे वा नगरेको कुरा? उनको अवस्था? यि सबैमा ति साहसिक महिलाको दृश्यचित्र सकारात्मक र उर्जावान आउनुपर्छ। उनले गर्न नसकेको उजुरीको कारण वा लड्न नसकेको लडाँईमा बाधक को हो तिनीहरु कमजोर र निरिह देखिनु पर्छ वा जवाफदेही देखिनुपर्छ दृश्यचित्रमा।
समाजले खिसिटिउरी गरेको, रिसाएको, कड्किएको र मजाक बनाएको इमोजी होइन, सहयोगी भएको वा ति साहसी महिलाले समाजलाई प्रश्न गरिरहेको वा जवाफदेही बनाएको इमोजी हुनुपर्छ। किनकी अब समाचार, अध्ययन वा कन्टेन्ट क्रिएट गर्दा क्यामेरा पीडित महिलाको आँसुमा मात्रै सिमित हुनु हुदैन प्रणालीलाई जवाफदेहि बनाउनु पर्छ र महिलालाई न्याय योद्दाका रुपमा प्रस्तुत गर्नुपर्छ ।
एउटी महिलालाई कमजोर देखाएको स्केचले हजारौ लाखौ महिलालाई कमजोर बनाउन वा उजुरी नगर्न प्रेरित गर्नु हुदैन ।
अन्त्यमा, लैंगिक विभेदमा आधारित हिंसा र महिलाका मुद्दामा आवाज उठाउनेहरु हामी सबैले यो विषय बुझेर नै वकालत गरिरहेका छौ। हाम्रो शसक्त आवाजले नै विगत भन्दा नीति कानुन तथा संविधानमा महिलाको हकलाई बलियोसँग स्थापित गर्न सफल भएका छौ। लुकेर बस्ने भन्दा सबै तगाराहरुको सामना गर्दै न्यायका लागि लड्ने योद्धा महिलाहरु बढ्दै गएका छन्।
उनिहरुलाई बलियो बनाउन वकालत गर्ने र न्यायको पक्षमा आवाज बुलन्द बनाउनेहरु पनि बढ्दै गएका छौ। यस्तो काम हामी हाम्रा अध्ययन, अनुसन्धान, समाचार तथा भर्च्युअल नेटवर्कका लागि कन्टेन्ट क्रिएट गरेर गरिरहेका छौ। हामी सबैका यि कदम सह्रानीय छन् । तर पनि हामी बुझेकै व्यक्तिहरुले महिला कमजोर र निरिह देखिने दृश्यचित्र बनाइरहेका छौ, प्रयोग गरिरहेका छौ, शेयर गरिरहेका छौ। जसले महिला माथि थप हिंसा गरिरहेको छ।








