काठमाडौँ, ११ असोजः नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनालाई गैरजिम्मेवारपूर्ण भएको बताउनुभएको छ।
डा. कोइरालाले विज्ञप्ति जारी गर्दै जबरालाई बिना स्पष्ट कारण र आधार–प्रमाण हचुवाका भरमा पक्राउ गरिएको दाबी गर्नुभएको हो। उहाँले उक्त गिरफ्तारीलाई अराजक तथा गैरकानुनी ढंगले गरिएको धरपकडको संज्ञा दिनुभएको छ।
विज्ञप्तिमा डा. कोइरालाले पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित पदमा रहिसकेका व्यक्तिलाई बिना आधार र प्रमाण गरिएको धरपकडप्रति नेपाली कांग्रेसले घोर भर्त्सना गर्ने उल्लेख गर्नुभएको छ।
उहाँले राज्यका निकायले कानुनी प्रक्रिया र व्यक्तिको मौलिक अधिकारको सम्मान गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिनुभएको छ।








