काठमाडौँ। नेपाली काँग्रेस संस्थापन इतर पक्षले आफ्नो १५ औं महाधिवेशनको तयारीलाई तिब्रता दिँदै ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ ।
शनिवार काठमाडौंको चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोईरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सो विवरण हस्तान्तरण गरिएको हो ।
पार्टीको सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ काँग्रेसले यसपटक डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन पार्टीले नयाँ वेबसाइट पनि सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलकाअनुसार यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुरानो नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको छ । उहाँले अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको बताउनु भयो ।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिवद्ध रहेको जनाउनु भयो । उहाँले १५ गते देशभरका वडाहरूमा अधिवेशन शुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया शुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले अत्यन्त छोटो समय (४ दिन) मा निर्माण गरिएको उक्त वेबसाइटमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गर्नुभयो ।
हाल यो वेबसाइट नयाँ सदस्यताका लागि लक्षित भएपनि भविष्यमा यसलाई थप व्यवस्थित गर्दै लगिने पार्टीले जनाएको छ । –न्युज एजेन्सी नेपाल








