मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हाँसिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताउनुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमा पुटिनले युक्रेनले कुनै पनि उत्तेजक गतिविधि वा तनाव बढाउने कदमबाट आफूले चाहेको परिणाम प्राप्त गर्न नसक्ने बताउनुभयो ।
उहाँका अनुसार यस्ता गतिविधिले युक्रेनकै अवस्था थप कठिन बनाउने छ । रुसले गरेको सैन्य जवाफी कारबाहीपछि युक्रेनले ऊर्जा संरचनामाथिका आक्रमण तथा हवाई हमलासहित विभिन्न क्षेत्रमा युद्धविराम सम्बन्धी व्यवस्था गर्न खोजेको पुटिनले दाबी गर्नुभयो ।
युक्रेनले कथितरूपमा समुद्री नाकाबन्दी लागू गर्ने प्रयास गर्नुका साथै भण्डारण केन्द्र तथा नागरिक पूर्वाधारमा आक्रमण गरेको भन्दै रुसले त्यसको जवाफ दिन थालेको उहाँले बताउनुभयो ।
रुसी आकलन अनुसार युक्रेनका गतिविधिका कारण कृष्ण सागरमा रहेका १०० भन्दा बढी पानी जहाजमा क्षति पुगेको पुटिनले दाबी गर्नुभयो । रासस/सिन्ह्वा








