९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास

काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
अ अ+ अ-

लमजुङ। पहाडको शान्त बस्ती, वरिपरि हरियाली जङ्गल । तल ऐतिहासिक गाउँसहर दरबार र माथि पुरानोकोट गढी ।

यही ऐतिहासिक परिवेशमा रहेको काउलेपानी प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्था र स्थानीय संस्कृतिका कारण परिचित छ । यहाँ आउने पर्यटकलाई घरबास (होमस्ट)को आत्मीय सत्कारसँगै पानीको बीचमा देवी उत्पत्ति भएको विश्वासले पनि आकर्षित गर्ने गरेको छ ।

बेँसीसहर नगरपालिका–३ मा रहेको जलदेवी मन्दिरलाई स्थानीय काउलेपानी देवी मन्दिर पनि भन्ने गर्छन् । स्थानीय किंवदन्तीअनुसार पानीको बीचमा देवीको मूर्ति भेटिएपछि त्यहीँबाट पूजा गर्ने चलन सुरु भएको हो । पानीमा लाग्ने लेउलाई स्थानीय रूपमा ‘काउले’ भनिने भएकाले देवीको नाम काउलेपानी रहन गएको र पछि सोही नामबाट गाउँको नामसमेत काउलेपानी रहन गएको स्थानीय बताउँछन् ।

काउलेपानी पर्यटन विकास समिति तथा घरबास व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङका अनुसार यस क्षेत्रसँग सिद्धिबाबा तथा योगीको पुरानो तपस्याको किंवदन्ती जोडिएको छ । उहाँका अनुसार १५औँ शताब्दीतिर यस क्षेत्रमा सिद्धिबाबा तथा योगी बस्ने र तपस्या गर्ने गर्थे । “सिद्धिबाबाले सपनामा पानीको बीचमा देवीको मूर्ति देखेका थिए । त्यसपछि त्यहाँ गएर हेर्दा पानीको बीचमा देवीको मूर्ति भेटिएको किंवदन्ती छ । त्यहीँबाट देवी स्थापना गरी पूजा गर्ने चलन सुरु भएको र अहिलेसम्म कायम रहँदै आएको विश्वास छ”, गुरुङले भन्नुभयो ।

पानीको बीचमै पूजा गर्न कठिन भएपछि देवीको मूर्ति केही बाहिर ल्याएर पूजा गर्न थालिएको स्थानीय किंवदन्ती छ । त्यसयता सोही स्थानमा मन्दिर स्थापना गरी पूजा तथा दर्शन गर्ने परम्परा कायम रहेको स्थानीय बताउँछन् । पानीको बीचमा देवी उत्पत्ति भएको विश्वास भएकाले उहाँलाई ‘जलदेवी’ भनिएको हो ।

काउलेपानीमा सिद्धिबाबा तथा योगी बसेका र तपस्या गरेका विश्वाससँग जोडिएका स्थल रहेका छन् । स्थानीय रूपमा जोगीडाँडा भनिने स्थानमा सिद्धिबाबाले तपस्या गरेको चौतारा तथा ढुङ्गामा उहाँको पाइलाको छाप रहेको बताइन्छ । स्थानीयवासीले यी स्थललाई पुरानो धार्मिक परम्पराको स्मृतिसँग जोडेर हेर्ने गरेका छन् ।

जलदेवीप्रति स्थानीयको धार्मिक आस्था रहेको देवबहादुर गुरुङ बताउनुहुन्छ । मन्दिरमा पूजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्थाका साथ काठमाडौँ, पोखरा, चितवनलगायत विभिन्न ठाउँबाट भक्तजन दर्शन तथा पूजाका लागि आउने गरेका छन् ।

काउलेपानीको जलस्रोतसँग धार्मिक विश्वाससँगै ऐतिहासिक सम्बन्धसमेत जोडिएको स्थानीय बताउँछन् । स्थानीय बुढापाकाकाअनुसार तत्कालीन राजाले यहाँको पानी ढुङ्गाबाट बनाइएको भूमिगत संरचना तथा सुरुङमार्फत दरबारसम्म पु¥याएर प्रयोग गर्ने गरेका थिए । काउलेपानीको पानी दक्षिणतर्फ मूल फुटेर उत्तरतर्फ बग्ने भएकाले स्थानीयले यसलाई ‘उत्तरगङ्गा’समेत भन्ने गर्छन् । कात्तिक, ठूला एकादशी र माघ महिनामा यहाँ स्नान गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको गुरुङले बताउनुभयो ।

स्थानीय जानकार कविन्द्र गुरुङका अनुसार काउलेपानीमा परम्परादेखि गुरुङ पुजारीले पूजा गर्दै आएका छन् । कात्तिक र चैते दसैँमा गाउँले सामूहिक रूपमा पूजा गर्ने तथा अन्य समयमा व्यक्तिगत रूपमा पूजा तथा दर्शन गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । “पहिलेदेखि नै गुरुङ पुजारीले पूजा गर्दै आएका छन् । कात्तिक र चैते दसैँमा गाउँले मिलेर पूजा गर्छन् । यहाँको धार्मिक आस्था जीवित छ”, कविन्द्र गुरुङले भन्नुभयो । समय क्रममा मन्दिर जीर्ण भएपछि पुनःनिर्माण गरिएको हो ।

गुरुङका अनुसार विसं २०७७/७८ मा सङ्घीय सरकारको करिब रु २७ लाख बजेटमा मन्दिरको नयाँ संरचना निर्माण गरिएको हो । धार्मिक महत्वसँगै काउलेपानी ग्रामीण पर्यटनको गन्तव्यका रूपमा पनि विकास भइरहेको छ । गाउँमा हाल १३ घरबास सञ्चालनमा छन् । गुरुङ र नेवार समुदायका घरमा सञ्चालित घरबासमा करिब ९० जनासम्म पाहुना राख्न सकिने क्षमता रहेको स्थानीयले बताएका छन् । घरबासमा आउने पाहुनाले स्थानीय खानपान, संस्कृति र रहनसहनको अनुभव लिनुका साथै गाउँसहर दरबार, पुरानोकोट गढीलगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन गर्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्य, घरबास, ऐतिहासिकस्थल र पानीको बीचमा देवी उत्पत्ति भएको स्थानीय विश्वासले काउलेपानीको छुट्टै धार्मिक तथा सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौँदेखि चल्दै आएको जलदेवीको पूजा परम्परा स्थानीयको आस्था र संस्कृतिसँग जोडिएर निरन्तर छ । रासस