काठमाडौं: हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि काठमाडौं–साङ्घाई–काठमाडौं गन्तव्यमा नियमित सिधा उडान पुनः सञ्चालन गर्ने भएको छ।
एयरलाइन्सका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) र साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थल (PVG) बीच सातामा दुई दिन सिधा उडान सञ्चालन हुनेछ। उडान पुनः सञ्चालन भएसँगै हिमालय एयरलाइन्स काठमाडौं–साङ्घाई–काठमाडौं मार्गमा नियमित सिधा उडान सञ्चालन गर्ने एकमात्र नेपाली वायुसेवा कम्पनी बन्ने जनाएको छ।
नेपालको राजधानी काठमाडौं र चीनको प्रमुख महानगर तथा अन्तर्राष्ट्रिय वित्तीय केन्द्र साङ्घाईबीच पुनः सिधा हवाई सम्पर्क स्थापना हुँदा दुई देशबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध थप सहज र सुदृढ हुने अपेक्षा गरिएको छ।
नेपालको मुख्य पर्यटन सिजन सुरु भएसँगै उडान सेवा पुनः सञ्चालन हुनुले चीनबाट नेपाल आउने पर्यटकको संख्या बढाउन तथा नेपालको आतिथ्य र पर्यटन क्षेत्रलाई सकारात्मक योगदान पुर्याउने एयरलाइन्सको अपेक्षा छ। यसले नेपालको आर्थिक पुनरुत्थान र आर्थिक वृद्धिका लक्ष्यमा समेत सहयोग पुग्ने विश्वास एयरलाइन्सले व्यक्त गरेको छ।
हिमालय एयरलाइन्सले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुई उडान सञ्चालन गर्ने जनाएको छ। काठमाडौं–साङ्घाई उडान हरेक सोमबार र शुक्रबार तथा साङ्घाई–काठमाडौं फर्कने उडान हरेक मंगलबार र शनिबार सञ्चालन हुनेछ।
उडान तालिका
| रुट | प्रभावकारी मिति | उडान दिन | प्रस्थान | आगमन |
|---|---|---|---|---|
| काठमाडौं–साङ्घाई | २८ सेप्टेम्बर–२३ अक्टोबर | सोमबार, शुक्रबार | १८:२५ | ०२:०० (+१) |
| साङ्घाई–काठमाडौं | २९ सेप्टेम्बर–२४ अक्टोबर | मंगलबार, शनिबार | ०३:०० | ०७:१० |
उल्लेखित सबै समय स्थानीय समयअनुसार हुनेछन्। (+१) ले उडान अर्को दिन आगमन हुने जनाउँछ।
एयरलाइन्सले यात्रुको माग तथा उडानको यात्रु भार (Load Factor) का आधारमा आगामी दिनमा उडान संख्या थप गर्न सकिने जनाएको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–साङ्घाई–काठमाडौं रुटमा नियमित उडान पुनः सञ्चालन गर्न लागेको जानकारी दिँदै नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्क सुदृढ बनाउन एयरलाइन्स प्रतिबद्ध रहेको बताए।
उनका अनुसार चीनका नयाँ गन्तव्यमा नियमित उडान विस्तार गर्दै आएको हिमालय एयरलाइन्सका लागि काठमाडौं–साङ्घाई रुटको पुनः सञ्चालनले दुई देशका नागरिकबीचको सम्बन्ध थप मजबुत बनाउन तथा पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
यस रुटबाट यात्रा गर्न चाहने यात्रुले हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।








