काठमाडौं । यो वर्षको हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका रिपोर्टिङ संयोजक रामचन्द्र अर्याल र क्यामेरा पर्सन दिवाकर पोखरेलसहित चारजना पत्रकारले पाएका छन् ।
नेपाल टेलिभिजनमा आयोजित समारोहमा सुचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

गत वर्ष भदौ २३ गते भएको जेनजी बन्दोलनका क्रममा जोखिम मोलेर प्रत्यक्ष रिपोर्टिङ गर्नुभएका हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित कान्तिपुरका श्याम श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पर्यावरण संरक्षणका क्षेत्रमा जोखिमपुर्ण रिपोर्टिङ गरेका नेपाल टेलिभिजनका संवाददाता अंजिरसिंह विक र शिव शिलवाललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमपूर्ण रिपोर्टिङले सत्य तथ्य समाचार उजागर गर्ने भएपनि पत्रकारले आफ्नो सुरक्षाको ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री तिमिल्सिनाले राज्यले पत्रकारको सुरक्षाका लागि नीतिगत काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा हिमालय टेलिभिजनका पत्रकार रामचन्द्र अर्यालले पत्रकारिता क्षेत्र नै जोखिमपूर्ण रहेको बताउँदै जनताको हकाधिकार स्थापित गराउनका लागि सधैं जोखिम मोल्न पत्रकार तयार रहेको बताउनुभयो ।

वि.सं. २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा पर्नुभएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो । पुरस्कारको राशी एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।








