काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभएको छ ।
खेलाडीको समस्या आफूले बुझेको उल्लेख गर्दै उहाँले प्रदेशका सबै क्षेत्रमा खेलाडी उत्पादन र उनीहरूलाई व्यवस्थित रूपमा खेल क्षेत्रमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताउनुभएको हो ।
हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा शनिबार दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले खेलाडीलाई आवश्यक प्रशिक्षक, पूर्वाधार र अवसर उपलब्ध गराउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
खेलाडी उत्पादनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले १३ जिल्ला र ११९ स्थानीय तहमा सम्भावना भएका खेल क्षेत्रलाई मागका आधारमा बजेट विनियोजन गर्दै आएको उहाँले बताउनु भयो ।
मुख्यमन्त्री थापाले खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर मैदानमा उत्रिँदा देशको पहिचान र गौरव बढ्ने बताउनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यममध्ये अन्तर्राष्ट्रिय खेलकुद र सगरमाथा प्रमुख रहेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री थापाले विगतमा खेलाडीलाई विभिन्न स्वार्थका लागि प्रयोग गरिँदा खेल क्षेत्रकै बदनाम भएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीले ठेक्कापट्टाका क्रममा तथा राजनीतिक दलहरूले निर्वाचनका समयमा खेलाडीको प्रयोग गर्ने गरेको भन्दै उहाँले खेलाडीलाई त्यस्ता गतिविधिबाट अलग राख्नुपर्ने बताउनु भयो ।
खेल आत्मरक्षा र प्रतिष्पर्धाका लागि महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै उहाँले खेलाडीलाई वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो । प्रदेश सरकारले खेलकुद मन्त्रालयमार्फत विभिन्न खेलका प्रतियोगिता आयोजना गर्ने, खेलकुदका लागि बजेट विनियोजन गर्ने तथा आवश्यक स्थानमा डोजाङ, रंगशाला, कभर्डहल र खेलमैदान निर्माणमा सहयोग गर्दै आएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा सन् २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न अन्र्तराष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसीपमामा ८५ केजी तौल समुह तर्फ फुलकन्ट्याक्ट कराँते विधामा स्वर्ण पदक र किक बक्सिङ विधामा काँस्य पदक जित्न सफल सुदर्शन खतिवडालाई सम्मान समेत गरिएको थियो । मकवानपुर तेक्वान्दो डोजाङको व्यवस्थापन तथा जिल्ला तेक्वान्दो डोजाङ मकवानपुरको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा १४ वटा डोजाङबाट महिला तथा पुरुष गरी १ सय ६० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता महिला र पुरुषतर्फ विभिन्न सात तौल समूहमा सञ्चालन गरिने अध्यक्ष सिग्देलले बताउनु भयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । –न्युज एजेन्सी नेपाल








