२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत



अ+ अ-

काठमाडौं: नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदुत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै देशको सीमाभित्र मात्र सिमित नरहने भन्दै विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै उहाँले कुनैपनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लैले गर्न नसक्ने बताउनु भयो । राजदुत झाङले हिमाली विपद्को जोखिम न्युनिकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उहाँले चीनले विपद्का बेला नेपाललाई गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको बताउनु भयो । गत अगस्ट २६ को बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोगसहित ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण र उद्धार डुंगालगायत राहत सामग्री उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको राजदुत झाङले बताउनु भयो । हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम आगामी दिनमा थप गम्भीर बन्नसक्ने भएकाले पूर्वतयारी, सूचना आदानप्रदान र उद्धार क्षमतालाई बलियो बनाउनुपर्ने उहाँले बताउनु भयो । राजदुत झाङले नेपाल र चीनले हिमाली विपद्लाई साझा चुनौतीका रूपमा लिएर हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण र विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा समेत सहकार्य विस्तार गर्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल