२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा भएको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ।

बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको हो।

मन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डिक्सले भोटेकोशी–त्रिशूली क्षेत्रमा देखिएको विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो। उहाँका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको छ भने कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था सिर्जना भएको थियो।

अत्यन्त साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न कठिन हुने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँले बताउनुभयो।

डिक्सले विपत्तिको समयमा कसैलाई दोष दिनेभन्दा उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताउँदै नेपाल सरकार तथा ऊर्जा मन्त्रालयले गरिरहेको समन्वयको प्रशंसा गर्नुभयो। यस्तो विपत्ति आउनुमा नेपालको कुनै दोष नरहेको उहाँको भनाइ थियो।

सतहमा ठूलो विनाश देखिए पनि त्यसकै आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने डिक्सले बताउनुभयो। जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उहाँको जोड छ।

उहाँले उद्धारको प्रारम्भिक चरणमै जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन, नक्सा र उपलब्ध प्राविधिक तथ्यांक अध्ययन गरी सम्भावित उद्धार मार्ग पहिचान गर्न थालिएको जानकारी दिनुभयो।

सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि उद्धार गर्ने अभियानमा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेपछि डिक्स अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउनुभएको थियो।
नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै उहाँले विपत्तिबाट प्रभावित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन चाहेको बताउनुभयो। उहाँका अनुसार उहाँको स्थानीय चर्चमा नेपालका लागि प्रार्थना भइरहेको छ भने इन्टरनेशनल टनेलिङ एसोसिएसनले समेत सहयोग र ऐक्यबद्धता जनाएको छ।

डिक्सले भोटेकोशी बाढीबाट भएको क्षतिलाई केवल भौतिक पूर्वाधारको क्षतिका रूपमा मात्र हेर्न नहुने बताउनुभयो। जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा, राष्ट्रिय पहिचान र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा भएको क्षति व्यापक राष्ट्रिय विषय भएको उहाँको भनाइ छ।

भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई जलविद्युत् आयोजना निर्माणको डिजाइन चरणदेखि नै समेट्नुपर्ने उहाँले सुझाव दिनुभयो।

तर, अहिलेको बाढीका आधारमा जलविद्युत् आयोजनाका पुराना डिजाइनलाई दोष दिनु उचित नहुने डिक्सले स्पष्ट पार्नुभयो। उहाँका अनुसार विश्वमै यसअघि नदेखिएको प्रकृतिको घटना भएकाले त्यसबेलाको उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन।
उद्धार अभियानमा सबैभन्दा ठूलो चुनौती आवश्यक उपकरण र दक्ष जनशक्तिलाई घटनास्थलसम्म पुर्‍याउनु रहेको डिक्सले बताउनुभयो। बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएकाले ठूला उपकरण ढुवानी गर्न नसकिएको र हेलिकप्टरबाट समेत भारी मेसिन लैजान सम्भव नभएको उहाँको भनाइ छ।
उहाँका अनुसार केही आवश्यक उपकरणको तौल करिब पाँच टनसम्म रहेको छ।

सडक निर्माणको काम अघि बढिरहेको र सडक पुगेपछि मात्रै ठूला मेसिन घटनास्थलसम्म पुर्‍याउन सकिने अवस्था छ। त्यसबीचमा अर्को किनारासम्म पहुँच बनाउन केबल पुल वा रोपवेका विकल्पसमेत खोजिएको उहाँले जानकारी दिनुभयो।
डिक्सले कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउँदै सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।