काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई एउटै प्रकृतिका घटनाका रूपमा नहेरी सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष तथा विश्वसनीय ढंगले स्थापित गर्न गर्नुभएको छ ।
भदौ २४ गते जारी प्रेस विज्ञप्तिमार्फत भण्डारीले ती घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
उहाँले एक वर्षको अवधिमा देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै नयाँ पुस्ताको आकाङ्क्षाले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताउनु भएको छ। निर्वाचनमार्फत जनताले आफ्नो अभिमतसमेत व्यक्त गरिसकेको भन्दै परिवर्तनलाई लोकतान्त्रिक प्रक्रियाबाट संस्थागत गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ।
भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसपछिको भदौ २४ गते देखिएको व्यापक हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशको प्रकृति फरक रहेको उल्लेख गर्नुभएको छ। आन्दोलनमा उठाइएका जायज माग र मूल भावनाभन्दा भिन्न गतिविधि देखिएको तथा बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत उठेकाले यसको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उहाँले बताउनु भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको र सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नभए पनि केही विवरण सञ्चारमाध्यमबाट बाहिरिएको उनले उल्लेख गर्नुभएको छ। यद्यपि घटनाको समग्र प्रकृति, हिंसा, विध्वंस र संलग्न पक्षहरूको भूमिकासम्बन्धी प्रश्न अझै पूर्ण रूपमा निरूपण हुन बाँकी रहेको उहाँको भनाइ छ।
उहाँले न्यायलाई राजनीतिक प्रतिशोधको आधारमा कसैलाई दोषी ठहर गर्ने माध्यम बनाउन नहुने बताउँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनुपर्ने तथा निर्दोषमाथि अन्याय हुन नदिनुपर्नेमा जोड दिनुभएको छ ।राज्यका निकाय र आन्दोलनमा सहभागी नागरिक सबैका लागि कानुन समान हुनुपर्ने उहाँको धारणा छ।
भण्डारीले नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई सकारात्मक रूपमा लिएर लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने बताउनु भएको छ। नागरिकका आवाज र असहमतिलाई सम्मान गर्दै लोकतन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने उहाँको भनाइ छ।
उहाँले भदौ २३ र २४ का पीडालाई राजनीतिक विभाजन र प्रतिशोधको आधार नभई राष्ट्रिय आत्मसमीक्षा र सुधारको अवसर बनाउन आह्वान गर्नुभएको छ । सत्य र न्यायको पक्षमा उभिँदै नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई समृद्ध नेपाल निर्माणको अभियानमा जोड्नुपर्ने उहाँको आग्रह छ।









