२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम



अ+ अ-

काठमाडौं । भदौ १० गतेको विपद्मा दिवंगत भएकाहरूको पुण्यस्मरण, बेपत्ता भएकाहरूको सकुशलताको कामना तथा राष्ट्रमा शान्ति, सद्भाव र ऐक्यबद्धताको भावना अभिव्यक्त गर्ने उद्देश्यले स्वयम्भू महाचैत्य परिसरमा आयोजित ‘स्मृति, करुणा तथा दीप प्रज्वलन कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सभामुख डीपी अर्याल सहभागी भएका थिए। कार्यक्रममा विभिन्न बौद्ध परम्पराका धर्मगुरु, भिक्षुसंघ, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक निकायका प्रतिनिधि, विभिन्न संघसंस्था, स्वयंसेवक तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।

थेरवाद परम्परातर्फबाट भिक्षु निग्रोध महास्थविर, सचिव, अखिल नेपाल भिक्षु महासंघसहित सहभागी भिक्षुसंघ, महायान परम्परातर्फबाट श्री सुमति मैत्री शासन् महाविहारका वरिष्ठ भिक्षुसंघ तथा वज्रयान परम्परातर्फबाट शान्ताश्री बज्राचार्य र पन्ना काजी बुद्धाचार्यसहित धर्मगुरुहरूले सामूहिक प्रार्थना तथा मंगलकामना गरेका थिए।

कार्यक्रममा नेपाली सेना, श्री शार्दुलजंग गुल्म, सशस्त्र प्रहरी बल नेपाल, महानगरीय प्रहरी बल, काठमाडौं महानगरपालिका तथा विभिन्न सार्वजनिक निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

त्यस्तै, नेपाल एकेडेमी अफ टुरिजम, होटल एन्ड माउन्टेनियरिङ (नाथम), बोधिसत्त्व विद्यालय, गीतमाता विद्यालय, टुरगान नेपाल, नेपाल टुरिस्ट गाइड एसोसिएसन, जापानिज गाइड एसोसिएसन अफ नेपाल र चाइनिज गाइड एसोसिएसन अफ नेपाललगायत संस्थाले कार्यक्रमको सहभागिता तथा व्यवस्थापनमा सहयोग गरेका थिए।

कार्यक्रम सफल बनाउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, सुगत बौद्ध कलेज, स्वयम्भू युवा परिवार, स्वयम्भू बुद्धाचार्य परिवार, आनन्दकुटी विहार तथा श्री सुमति मैत्री शासन् महाविहारलगायत संस्थाको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

कार्यक्रमकै क्रममा श्रेष्ठ परिवारको पहलमा बुद्ध थाङ्का ट्रेजर स्वयम्भू तथा बुद्धिस्ट थाङ्का ट्रेजरका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

आयोजकले स्मृति, करुणा र ऐक्यबद्धताको साझा भावनाले विपद्का समयमा सबैलाई एकताबद्ध बनाउँदै मानवता, सहकार्य र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।