काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रश्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिनुभएको हो । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताउनु भयो ।
विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रश्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताउनु भयो । सभापति थापाले यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूलाई पनि अध्ययन गर्न सुझाव दिनुभयो ।
उहाँले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । सही तयारी र विज्ञहरूको परामर्शका आधारमा प्रश्तुत भए नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो मुद्दालाई थप स्थापित गर्न सक्ने थापाको भनाइ छ ।









