काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ललितपुरका कबिर महर्जनको १० दिनपछि जीवितै उद्धार भएको छ।
नेपाली सेनासहित विज्ञ तथा प्राविधिकको टोलीले शुक्रबार बिहान महर्जनको सकुशल उद्धार गरेको हो। उद्धारपछि उनलाई काठमाडौं ल्याई सैनिक अस्पताल छाउनीको आईसीयूमा उपचार भइरहेको छ। महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ।
महर्जनकी श्रीमती हीराशोभा महर्जनले शुक्रबार सैनिक अस्पताल पुगेर श्रीमान्को अवस्था अहिले सुधारोन्मुख रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सुरुमा महर्जनले आफूलाई समेत चिन्न नसके पनि अहिले केही बोल्न सक्ने अवस्थामा हुनुहुन्छ।
उहाँको खुट्टामा सामान्य चोट लागेको र शरीर पहेँलो देखिएकाले चिकित्सकको निगरानीमा आईसीयूमा राखेर उपचार भइरहेको श्रीमती हीराशोभाले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘अहिले ठिकै छ, अलिअलि बोल्नुभएको छ। आउने बेलामा त त्यस्तो बोल्न सकिराख्नुभएको थिएन। मलाई नै चिन्नुभएन सुरुमा त। अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। खुट्टामा थोरै चोट लागेको छ। उहाँको सबै शरीर नै पहेँलो भएको छ।’
१० दिनसम्म सुरुङभित्र फसेका श्रीमान् जीवितै फर्किनुहुन्छ भन्ने विश्वास नै गुमिसकेको अवस्थामा सकुशल उद्धार भएपछि परिवारमा खुसी छाएको उहाँले बताउनुभयो।
‘उहाँ फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन। उहाँ फर्किँदा हामी एकदमै खुसी छौँ। परिवारमा सबै खुसी हुनुभएको छ। उहाँको जीवन बचाइदिनुभएकोमा नेपाली सेनालाई धन्यवाद,’ उहाँले भन्नुभयो।









