१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द



अ+ अ-

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् ।

बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ ।

“केही विद्यालयले भने उच्च सतर्कता अपनाएसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्था र दैनिक जनजीवन असामान्य छ । केही समयपछि वैकल्पिक माध्यमबाट अध्ययन गराउन योजना बनाउनेछौँ ।”

त्रिशूली नदीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्याङ्कअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलको सम्पूर्ण संरचनामा क्षति पुगेकाले उक्त स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था छ । त्यस्तै, उत्तरगया इङ्लिस बोर्डिङ स्कुलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण क्षति भएर एकवटा ब्लकमात्र बाँकी छ । चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थी बसोबास गर्ने छात्राबास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाइ छ । रामचन्द्र आविको एक र उत्तरगया इङ्लिस बोर्डिङका दुईवटा बस बाढीले बगाएको छ ।

त्यस्तै, किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । बेलकोटगढी–७ स्थित शिलादेवी मावि बाढीबाट प्रत्यक्ष र वडा नं ५ को महादेव मावि प्रभावित बनेको छ । रासस