१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रिय सदस्य देवराज चालिसेले बताउनुएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनु भयो ।

सरकारले उपलब्ध स्रोतसाधनबाट प्रयास गर्दागर्दै पनि नसकिए प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच गर्न नहुने उहाँको भनाइ छ ।

उहाँले सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको पनि बताउनु भयो ।

उहाँकाअनुसार तीनै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतलाई प्रभावकारी बनाउने तथा राजनीतिक दलहरूले त्यसका लागि सहयोग गर्ने सहमति भएको छ । उहाँले विपद्को विषयलाई राजनीतिकरण गर्न नहुने बताउँदै सबै दल पीडित जनताको पक्षमा एकजुट हुनुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छेको जीवन नै प्रधान हो । त्यसकारण उद्धारको विषयमा सरकार संवेदनशील हुनुपर्छ । राहत दोस्रो चरण हो । पुनर्निर्माण तेस्रो चौथो चरणमा जान्छ । त्यसले गर्दाखेरि अहिलेको प्रधान विषय भनेको एकजना भएनी बाँचेको छ कि भनेर खोजी गर्नु नै हो । अहिले सबैभन्दा संगीन प्रश्न सुरुङमा फसेका हाम्रा दक्ष जनशक्तिहरु नेपालका सबैभन्दा उच्च इन्जिनियरहरु, एक्सपर्टहरु थुनिएको अवस्था छ । धेरै कुराहरु बाहिर राख्या छ । थुनिएको अवस्थामा हामीले राइट टाइममा विगत अन्तर्राष्ट्रिय अनुभव पनि हे¥यौं । इण्डियाको पनि उत्तराखण्डमा यस्तै किसिमको सुरुङमा भित्र अड्किएको अवस्था थियो । त्यसकारण सकेको अन्तर्राष्ट्रिय सहयोग जुटाउन कुनै लाज मान्नु पर्दैन । एक्सपर्ट भन्ने कुरो ज्ञान र विज्ञान भन्ने कुरो, अनुसन्धान भन्ने कुरो राष्ट्रिय सीमा हुँदैन । सबैको सहयोग लिएर गर्ने विषय हो । हामीसँग हाम्रा उपलब्ध स्रोत र साधनले गरे सकेसम्म गर्ने हो । गर्न नसकेका विषयहरुमा प्राविधिक सहयोग टेक्निसियनदेखि लिएर प्रविधिको सहयोग लिनुपर्छ ।’

उहाँले जलवाजन्य विपद्को विषयलाई दीर्घकालीन छलफलको विषय बनाएर अघि बढ्नुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल