१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी, सञ्चालक पनि सम्पर्कविहीन



अ+ अ-

बाँके । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

रकम हिनामिना गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसनर सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।

सहकारीको हिनामिना मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ ।

११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ । सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द अवस्थामा रहेको छ ।