१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु



अ+ अ-

काठमाडौँ। नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न शुरु गरिएको छ ।

फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान भई आफन्तलाई जिम्मा लगाइएको छ भने बाँकी शवहरूलाई सुरक्षित तवरले दफन गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

शवहरूलाई लामो समयसम्म फ्रिजमा राख्न नसकिने अवस्था भएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् ।

शव व्यवस्थापनका लागि १.५ मिटर गहिरो खाडल खनिएको छ, जहाँ प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनेछ । दुईवटा शवको बीचमा ४० सेन्टिमिटरको दूरी कायम गरिने र ठाउँको वचतका लागि एउटाको टाउको र अर्कोको खुट्टाको भाग मिलाएर राखिनेछ । प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने खालको संकेत चिन्ह (ट्याग) राखिनेछ । भरतपुरमा संकलन गरिएका शवहरूलाई ‘बिएचएफ ०१, ०२’ जस्ता कोडिङ गरेर नम्बरिङ गरिएको छ ।

शवलाई माटोले पुरिसकेपछि त्यसको ठीक माथि कङ्क्रिटको सामान्य ढलान गरी स्ट्यान्ड बनाइनेछ । जमिनमुनि शवमा राखिएको नम्बर र जमिनमाथि स्ट्यान्डमा राखिएको नम्बर एउटै हुनेछ, जसका कारण भविष्यमा पहिचान खुलेपछि शव निकाल्न सहज हुनेछ । यस प्रक्रियामा संयुक्त मुचुल्का तयार पार्नुका साथै फोटो, भिडियो र जीआर (भौगोलिक नक्शा) समेत सुरक्षित राखिनेछ ।

पहिचान नभएका सबै शवहरूको डीएनए नमूना संकलन गरिसकिएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तहरूले सम्बन्धित जिल्ला अस्पताल वा प्रहरी कार्यालयमार्फत आफ्नो डीएनए नमूना उपलब्ध गराउन सक्नेछन् । प्रयोगशालामा परीक्षण गर्दा आफन्तको डीएनए र शवको डीएनए म्याचिङ भएमा सुरक्षित रूपमा राखिएको शव निकालिने र कानूनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ ।

नारायणी र राप्ती नदीका विभिन्न भङ्गाला तथा निकुञ्ज क्षेत्रमा अझै पनि शवहरू हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षकको नेतृत्वमा विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ । नदी किनारबाट दैनिक रूपमा शव संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शवहरू सडेको र दुर्गन्धित अवस्थामा फेला पर्ने गरेकाले संकलन र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि पीपीई सेट, ग्लोब्स र मास्कको अनिवार्य प्रयोग गरिएको छ ।

शव राख्नका लागि पर्याप्त संख्यामा ‘डेड बडी ब्याग’ को समेत व्यवस्था गरिएको छ । यो व्यवस्थापन कार्य विशेष गरी बाढी र प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिहरूको सम्मानजनक र वैज्ञानिक अन्त्येष्टिका लागि गरिएको हो ।–न्युज एजेन्सी नेपाल