१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय



अ+ अ-

काठमाडौँ। टिमुरे बजारको त्यो साढे तीन तले पक्की घरलाई सबैले गाउँकै सबैभन्दा सुरक्षित आश्रयस्थल मान्थे । छेउमै चीन सरकारले बनाइदिएको आधारभूत विद्यालय थियो, अगाडि गाडी पार्किङ गर्ने खुला कम्पाउण्ड । भूकम्प नै आए पनि वा वर्षा भएपनि बाहिर निस्केर ढुक्कले उभिन सकिने त्यो घरमा प्लान्ट क्वारेन्टाइन कार्यालय भाडामा बसेको थियो ।

तलका तीन तलामा राष्ट्रसेवक कर्मचारीहरूको दैनिकी चल्थ्यो । अघिल्लो रात त्यहाँ एउटा परिवारजस्तै सात जना मानिसहरू बास बसिरहेका थिए । कार्यालयका तीन इमान्दार साथीहरू र माथिल्लो तलामा घरबेटीका सदस्यहरू । स्वास्थ्यचौकीमा अहोरात्र खटिने छोरा र छोरी, बैंकमा कार्यरत बुहारी र एउटी अवोध नातिनी ।

अछामबाट आएका जागेश्वर शर्मा, विगत तीन वर्षदेखि हिमाली दुर्गम भूगोलमा दत्तचित्त भएर माटोको सेवा गरिरहेका थिए । भर्खर वैशाख १९ मा लोकसेवा पास गरेर उत्साहको नयाँ झोला बोकी पहिलो पोस्टिङमा आइपुगेका युवा खरिदार आयुष खड्का थिए । अनि रसुवाकै स्थानीय, विगत सात–आठ वर्षदेखि कार्यालयलाई आफ्नै घर मानेर सहयोगी बनेका शिवप्रसाद ढकाल थिए ।

उनीहरू एउटै भान्सामा एउटै कुकरमा पाकेको दालभात खान्थे । ओल्लो–पल्लो कोठामा सुत्थे र २४ सै घण्टा सुख–दुःख साट्थे । तर भदौ १० गतेको त्यो कालो बिहान, नियतिले यस्तो क्रूर रूप लियो कि पहाड फुटेर भोटेकोशीको कालो लेदोसहित उर्लिएको भेलले केवल १० देखि १२ सेकेण्डभित्र सबै कुरा पत्तासाफ बनाइदियो ।

होटलको भान्साबाट ज्यान जोगाएर निस्किएका एक जनाले पछि काँप्दै सुनाए ‘पछाडिको ढोकाबाट म र बहिनी भाग्यौँ । १० सेकेण्ड ढिलो भएको भए हामी पनि रहँदैनथ्यौँ ।’

त्यो पहाडी टेरेनमा टेक्ने हाँगो थिएन, समाउने डालो थिएन । जसले खोलाको बहावतिर ज्यान फाले, उनीहरूलाई माटो र भेलले निले, जो ठाडो भीरको कडा चट्टानमा टाँसिन पुगे, उनीहरू मात्र बाँच्न सफल भए ।

घण्टी बजिरहेको फोन र फर्किने आशा

‘दाजुको फोनमा २ः१५ सम्म घण्टी गइरहेको थियो । लोकेशन अफिसभन्दा १.१ किलोमिटर माथि उकालो जंगलतिर देखाउँछ… दाजु जीवितै हुनुहुन्छ !’ बहिनीले पीडा सुनाइन् ।

काठमाडौंको टिचिङ अस्पतालको बाहिरी प्राङ्गणमा असमबाट दौडिँदै आएकी सानु उपाध्यायको हातमा मोबाइल काँपिरहेको थियो । उनका जेठाजु जागेश्वर शर्माको मोबाइलमा दिउँसो २ बजेर १५ मिनेटसम्म निरन्तर घण्टी बजिरहेको थियो ।

‘कल डिटेल्स हेर्दा फोन गइरहेको छ । अफिसको स्थानबाट उहाँ १.१ किलोमिटर माथि उत्तरतर्फको उकालो जंगलतिर जानुभएको लोकेशनले प्रस्ट देखाउँछ ।’ सानुको गला अवरुद्ध भयो । ‘उहाँ पहिरोबाट भागेर जंगलको कतै ओडार वा अप्ठ्यारो खोँचमा अड्किनुभएको छ । हेलिकप्टरले माथि आकाशबाट मात्र फन्को मारेर ती बाक्ला रुखमुनि फसेका मान्छे कसरी देखिन्छन् ?’

सानुको मनमा त्यो दृश्य घुमिरहन्छ–अछामको घरमा एउटा सानो अवोध छोरो आँगनमा उभिएर बाटो हेरिरहेको छ । उसलाई परिवारले झुटो आश्वासन दिइरहेका छन् ।

‘बाबु, तिम्रो बाबा आउँदै हुनुहुन्छ, चाँडै आउनुहुन्छ ।’ बाबुको माया खोज्ने त्यो निर्दोष आँखालाई अब कतिन्जेल ढाँट्ने ?

१८ वर्षीया सुजिता ढकाल पनि वसुन्धराको कोठाबाट निस्केर आँसु पुछ्दै अस्पतालका कोठाहरू चहारिरहेकी छिन् । उनका बाबु शिवप्रसाद ढकालसँग त्यो बिहान ७ बजेसम्म आमाको फोनमा कुरा भइरहेको थियो ।

‘मम्मीसँग कुरा गर्दागर्दै नेट गयो र फोन काटियो । तर दिउँसो २–३ बजेसम्म बाबाको फोन लागिरहेकै थियो ।’ सुजिता भन्छिन् ।

गाउँमा आमा र सानो भाइ छटपटिरहेका छन् । दिदी गाउँ पुगेकी छिन्, सुजिता काठमाडौंमा बाबुको पाइला खोज्दै दौडिरहेकी छिन् । घण्टी बज्ने तर आवाज नसुनिने त्यो फोनले परिवारलाई हर सेकेण्ड बाँच्ने र मर्ने दोसाँधमा पु¥याइरहेको छ ।

वीर, छाउनी र जङ्गी अड्डाः दिदीको आर्तनादः २८ वर्षे सैनिक तपेन्द्र जंग कुँवर र चार दिनको छटपटी

‘हामीलाई कि आश चाहियो, कि लाश चाहियो ! चार दिन भइसक्यो, मेरो भाइको केही त खबर देऊ नेपाल सरकार !’

तपेन्द्रजंग कुँवर कैलालीको घोडाघोडीबाट राष्ट्रको सीमाना रक्षा गर्न रसुवागढीको टिमुरे ब्यारेक पुगेका थिए । २७–२८ वर्षका तपेन्द्र जंग कुँवर । मंगलवार साँझ परिवारसँग हाँसिमजाक गर्दै कुरा गरेका तपेन्द्र भोलिपल्ट बिहान बाढी आएदेखि एकाएक बेखबर भए ।

उनकी दिदी मञ्जु पौडेलको आँखामा चार दिनदेखि निन्द्राको एक थोपा परेको छैन । वीर अस्पताल, छाउनीको सैनिक अस्पताल, टिचिङ, सिभिल–काठमाडौंका हस्पिटलका गल्ली र शवगृह चहार्दा–चहार्दा उनका गोडाका पैताला फुटेका छन् । जहाँ–जहाँ बेवारिसे शव ल्याइन्छ, मञ्जुको मुटु काँप्दै त्यहीँ पुग्छ ।

‘धुन्चे ब्यारेकमा फोन गर्दा फोन त उठ्छ, तर उहाँहरू भन्नुहुन्छ–कन्ट्याक्टमा बस्नुहोला, १ प्रतिशत मात्रै आश बाँकी छ ।’ मञ्जुको आवाज आक्रोश र रोदनमा मिसिन्छ । ‘हिजो जङ्गी अड्डामा फोन गर्दा पनि सरी भाइ मिसिङ हुनुहुन्छ भनेर पन्छाइयो । हामीलाई परिवारमा सान्त्वना दिने एउटा शब्द छैन ?’

माननीय, वडाध्यक्ष, सिडिओ सबैलाई गुहारे पनि चार दिन बित्दा पनि भाइको कुनै अत्तोपत्तो छैन ।  ‘अरू कसैको शव भेटियो भनेर आयो, कसैको हिलोमा पुरिएको खबर आयो, तर मेरो भाइको सिन्को जति खबर छैन । जनताको खोजीमा जस्तै देशको बर्दी लगाएर पहरा दिने नेपाली सेनाका सिपाहीप्रति पनि राज्यको ध्यान जाओस् ।’ मञ्जु हात जोड्दै राज्यसँग याचना गर्छिन्–‘हामीलाई कि सास चाहियो कि लाश चाहियो । कम्तीमा मेरो भाइ कहाँ छ, त्यो सत्यसम्म पु¥याइदेऊ ।’

बाँचेको मान्छेको अपराधवोध र टिचिङको आँगनः नविन शर्माको आँशु र एउटै भान्साका सहकर्मीहरूको सम्झना

‘एउटै कुकरको दालभात खाने मेरा कर्तव्यनिष्ठ साथीहरू हराए… म धुन्चेमा भएकाले बाँचेँ, तर यो बाँच्नुमा पनि ठूलो पीडा छ ।’

नविन शर्मा टिचिङ अस्पतालको सिँढीमा बसेर टोलाइरहेका छन् । उनी प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेका ती भाग्यमानी कर्मचारी हुन्, जो तलब र लेखाको कागजात मिलाउन भदौ पहिलो साता २८ किलोमिटर तल धुन्चे झरेका थिए । शुक्रवार घर गए, उपचारको कामले एक–दुई दिन ढिला भयो र भदौ ८–९ मा टिमुरे फर्कने उनको योजना रोकियो ।

‘म यता भएकाले बाँचेँ, यसलाई सौभाग्य भनौँ कि दुर्भाग्य ?’ नविन भक्कानिन्छन् । ‘तर आफूसँग २४ सै घण्टा एउटै कोठामा बस्ने, एउटै भान्सामा खाना खाने इमानदार राष्ट्रसेवक साथीहरू बाढीमा बेपत्ता हुँदा त्यो ट्रमाबाट म निस्कनै सकेको छैन ।’

दुर्गम हिमाली जिल्लामा डेढ वर्षको टेनियर हुने ठाउँमा जागेश्वर तीन वर्षदेखि दत्तचित्त भएर बसिरहेका थिए । आयुष खड्का भर्खर लोकसेवाको परीक्षा उत्तीर्ण गरी देश सेवाको नयाँ उमङ्ग बोकेर आएका थिए । शिवप्रसाद कालिका गाउँपालिकाका आफ्नै माटोका अनुभवी साथी थिए ।

अस्पतालको प्राङ्गणमा बेपत्ता साथीहरूका आफन्तहरू रोइरहेका छन् । नविन उनीहरूको आँशु पुछ्दै अस्पतालका वार्डहरू चहार्छन्–कतै घाइतेका रूपमा भेटिन्छन् कि, कतै कुनै सूचना फेला पर्छ कि । केन्द्रमा हाकिमहरू मन्त्रालय र सचिवहरूसँग सम्पर्कमा छन्, तर भुइँको यथार्थ ढुङ्गाझैँ मौन छ ।

भदौ १० को त्यो महाप्रलय र चार हजार बढी मुटुको धड्कन

‘कतिको शव भेटिएको छ तर पहिचान हुन सकेको छैन । स्वदेशी र विदेशी गरी २५ सय नागरिक सम्पर्कविहीन छन् ।’

भदौ १० गतेको त्यो बिहान केवल टिमुरेको एउटा घरमा मात्र बज्रपात परेको थिएन, सिङ्गो भोटेकोशी र त्रिशूली जलाधार क्षतविक्षत भएको थियो । रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥यायो । पहिरोले सडक सञ्जाल क्षतविक्षत पारेको थियो, टेलिफोनका टावरहरू ढलेका थिए र बिजुलीका पोलहरू बगेका थिए । २५ सय भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरू एकैपटक सम्पर्कविहीन बन्न पुगे ।

नदी किनारहरूमा शवहरू भेटिइरहेका छन् तर बाढीको लेदो र चोटका कारण धेरैको पहिचान खुल्न सकेको छैन । काठमाडौंका अस्पतालहरूमा घाइतेहरूको उपचार चलिरहेको छ भने शिक्षण अस्पताल र वीर अस्पतालका बाहिरी चउरमा आफन्तहरू आफ्ना प्रियजनको तस्बिर छातीमा टाँसेर आँसुको भेल बगाइरहेका छन् ।

यो कुनै सामान्य विपद् थिएन । यो सपनाहरूको सामूहिक समाधि थियो, जहाँ राष्ट्रको सेवा गर्न गएका कर्मचारी, सीमाना रक्षा गर्ने सैनिक, स्थानीय बासिन्दा र निर्दोष बालबालिका सबैलाई प्रकृतिको निर्मम प्रहारले एकै चिहान बनाइदिएको थियो ।

अन्तिम आशाको त्यान्द्रोः जमिनमा खोजी गरियोस्ः हाम्रो अन्तःस्करणले अझै उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन । ‘हेलिकप्टरलाई कतै ल्याण्ड गरेर स्थलगत जंगलमा सेना र उद्धार टोली हिँडोस्, हाम्रा मान्छेहरू अझै कतै उद्धारको पर्खाइमा बाँचिरहेका छन् ।’

‘हाम्रो अन्तःस्करणले, उहाँका पारिवारिक अन्तःस्करणले उहाँहरू हुनुहुन्न भन्ने अझै सोच्न सकेको छैन ।’ नविन शर्मा, मञ्जु पौडेल, सानु उपाध्याय र सुजिता ढकालको साझा आवाज यही हो ।

जहाँसम्म फोनको अन्तिम लोकेशन १.१ किलोमिटर माथि देखिएको छ, जहाँसम्म घण्टी बजिरहेको थियो, त्यहाँ जीवनको सम्भावना अझै बाँकी छ । पहाडको भित्तामा कतै ओत लागेर, भोक र तिर्खाले लखतरान भई हाम्रा बाबु, दाजु, भाई र छोराहरू आकाशतिर हेर्दै हेलिकप्टरको आवाज कुरिरहेका हुन सक्छन् । परिवारको एउटै अपिल छ–उद्धार केवल आकाशबाट हेरेर मात्र सम्भव छैन । सेना, प्रहरी र सशस्त्रको विशेष टोलीले त्यो अप्ठ्यारो भिरालो जंगलमा स्थलगत पाइला टेकोस् । रुखका जरा र ओडारहरू चहारियोस् ।

यो कर्तव्य, प्रेम, परिवार र बाँचुन्जेल नछुट्ने आशाको कथा हो । जबसम्म अन्तिम ढुङ्गा पल्टाइँदैन, जबसम्म अन्तिम सासको खोजी सकिँदैन, टिमुरेको त्यो पहिरोमुनि हराएका प्रियजनहरूको नाममा हाम्रो प्रार्थना र पुकार जारी रहनेछ ।–न्युज एजेन्सी नेपाल