१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै गएसँगै थप क्षतिको जोखिम कायमै रहेको चिनियाँ दूतावासले जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फ रहेको एक सहायक नदीमा हिम–चट्टानसहितको पहिरो खसेर नदी थुनिएको जनाएको हो। पहिरोले नदी थुनेपछि सीमा नदीसँगै ताल बनेको र उक्त तालमा पानीको सतह अहिले उच्च रहेको दूतावासको भनाइ छ।

दूतावासका अनुसार तालको पानी ओभरफ्लो हुन थालेकाले तल्लो तटीय क्षेत्रमा थप क्षति पुग्न सक्ने सम्भावना बढेको छ। यस्तो अवस्थामा नेपाल र चीन दुवैका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले परिस्थिति संवेदनशील बनेको दूतावासले उल्लेख गरेको छ।

तालभन्दा तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनबारे निरन्तर निगरानी राख्न र उच्च सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ। सम्भावित जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्था आइपरे तत्काल प्रतिकार्य गर्न आवश्यक पूर्वतयारी गर्नसमेत भनिएको छ।

चीन र नेपालका सम्बन्धित निकायले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको दूतावासले जनाएको छ। जोखिमको अवस्था मूल्यांकन गर्दै आवश्यक समन्वय र प्रतिकार्यका लागि दुवै पक्षका निकाय सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।

दूतावासले सीमा क्षेत्रमा उत्पन्न अवस्थाबारे सर्वसाधारणलाई आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्रै विश्वास गर्न आग्रह गरेको छ। अपुष्ट सूचना तथा हल्ला फैलाएर अनावश्यक त्रास सिर्जना नगर्नसमेत दूतावासले अनुरोध गरेको छ।