काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट उत्पन्न विपद्को अवस्थाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपद् उद्धार, राहत, पुनःस्थापना तथा दीर्घकालीन विपद् व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको छ।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले विपद्को सामना गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने, उद्धार तथा राहत कार्यलाई प्रभावकारी र समन्वित बनाउनुपर्ने तथा विपद् पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्सम्बन्धी विषय केही दिनपछि ओझेलमा पर्न सक्ने भएकाले यसलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताए। उनले जलवायु परिवर्तन, हिमताल विस्फोट तथा हिमाली क्षेत्रका विपद्का जोखिमलाई नेपालले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे। विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दललाई आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने उनको भनाइ थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जलवायु न्यायका विषयमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सशक्त आवाज उठाउनुपर्ने बताए। विपद्को समयमा सबै राजनीतिक दल एकजुट रहेको सन्देश जनतामाझ पुर्याउनुपर्ने भन्दै उनले सरकारको विपद् व्यवस्थापन प्रयासमा आफूहरूको पूर्ण साथ रहने बताए। उनले विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी, विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद् व्यवस्थापनमा सरकार अझ जिम्मेवार र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने बताए। बेपत्ता तथा मृत्यु भएका व्यक्तिको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने, उद्धार कार्यलाई तीव्र र समन्वित बनाउनुपर्ने तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार तत्काल मर्मत तथा पुनःस्थापना गर्नुपर्ने उनको भनाइ थियो।
उनले खानेपानी र विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्नुपर्ने, विपद् पूर्वसूचना प्रणाली प्रभावकारी रूपमा काम गर्न नसकेको विषयमा गम्भीर समीक्षा तथा अनुसन्धान गर्नुपर्ने र विभिन्न देशबीच सूचना आदानप्रदान तथा समन्वयका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने बताए। आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्न राजनीतिक दलहरू तयार रहेको भन्दै उनले सरकारले औपचारिक आह्वान गर्नुपर्ने धारणा राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धार तथा प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्ने बताए। राहत, उद्धार तथा प्रतिकार्यका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्ने तथा प्रभावित र विस्थापित नागरिकका लागि अस्थायी पुनःस्थापना र पुनर्वासको काम तत्काल सुरु गर्नुपर्नेमा उनले जोड दिए।
लिङ्देनले नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि त्रिपक्षीय सूचना तथा समन्वय संयन्त्र विकास गर्नुपर्ने प्रस्तावसमेत राखे।
तमलोपाका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विपद्को कठिन अवस्थामा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए।
जनमत पार्टीका चन्दन सिंहले नागढुंगा क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन तथा आवागमनको समस्या तत्काल समाधान गर्नुपर्ने बताए।
बैठकमा सरकारका तर्फबाट विपद्को अवस्था, उद्धार तथा राहतका लागि भइरहेका प्रयासबारे जानकारी दिइएको थियो। गृहमन्त्री सुदन गुरुङले सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार र सुरक्षा कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए। उनले पूर्वाधारमा भएको क्षतिको परिमाण ठूलो रहेको र यकिन विवरण संकलन गर्न चुनौतीपूर्ण अवस्था रहेको बताए।
मानवीय क्षति तथा बेपत्ता व्यक्तिको यकिन विवरण पहिचानका लागि विभिन्न माध्यम र संयन्त्र परिचालन गरिएको जानकारी दिँदै गुरुङले सञ्चार तथा आवागमन पुनःस्थापनाका लागि विशेष टोली परिचालन गरिएको बताए। आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान र पूर्वानुमानका लागि विशेष टोली गठन गर्नुपर्ने उनको धारणा थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवागढी भन्सार क्षेत्रमा १५ जना व्यक्ति बेपत्ता रहेको जानकारी बैठकमा गराए। उनका अनुसार करिब ७०० मेगावाट क्षमताका विद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ।
उनले सबै मन्त्रालयले आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअनुसार विपद् प्रतिकार्यमा सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। विश्व बैंकबाट १७ करोड अमेरिकी डलर बराबरको सहयोग तथा बीमा सहायता उपलब्ध गराउने प्रतिबद्धता आएको तथा चीन, भारत, अमेरिका र एसियाली विकास बैंक (एडीबी) बाट समेत सहयोग उपलब्ध हुने जानकारी उनले दिए।
वाग्लेका अनुसार संयुक्त राष्ट्रसंघका महासचिवलगायत अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्र तथा अर्थतन्त्रको पुनःस्थापनाका लागि तत्काल आर्थिक प्याकेज घोषणा तथा कार्यान्वयन गर्ने तयारी रहेको र चीनसँगको व्यापार तथा आवागमन सहज बनाउन वैकल्पिक सीमा नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।
बैठकको आह्वानकर्ता रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय विपद्को गम्भीरतालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक प्रस्तुत भएकोमा सबै राजनीतिक दललाई धन्यवाद दिए। विपद्सँग प्रभावकारी रूपमा जुध्न सबै राजनीतिक दलका साझा धारणा र प्रतिबद्धता समेटिएको संयुक्त वक्तव्य जारी गरिने उनले जानकारी दिए।









