काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक आयोजनास्थलमा अवतरण गरेको छ।
प्रतिकूल मौसमका कारण हिजो दुई पटक हेलिकप्टर अवतरणको प्रयास असफल भए पनि आज सफलतापूर्वक अवतरण भएसँगै आयोजनास्थलको वास्तविक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत मूल्याङ्कन सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रभावित क्षेत्रमा रोकिएका कर्मचारीको उद्धार तथा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै काम तीव्र बनाउन निर्देशन दिनुभएको छ।
मन्त्रीको निर्देशनअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली फिल्डमा खटिएको छ। टोलीमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवं प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितका अधिकारी सहभागी छन्।
टोलीले आयोजनास्थलको वस्तुस्थिति निरीक्षण, कर्मचारी उद्धारको समन्वय तथा क्षतिग्रस्त विद्युत् संरचनाको पुनर्स्थापनाका लागि आवश्यक प्राविधिक मूल्याङ्कन गरिरहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेका नुवाकोटका प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने काम भइरहेको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकतर्फबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुद्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ।
नुवाकोटका अन्य प्रभावित क्षेत्रमा पनि विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी सेवा सञ्चालन गर्न सकिने सम्भावना पहिचान भएको छ। त्यसअनुसार चपली–देवीघाट ६६ केभी र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्राविधिक टोलीले आवश्यक प्राविधिक तयारी तथा स्थलगत कामलाई तीव्रता दिएको छ। उपलब्ध सबै वैकल्पिक प्राविधिक उपाय प्रयोग गरी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।








