काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने उपचाररत छन् ।
त्यसैगरी रसुवाको गोसाइँकुण्डका दावा डोल्माको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने बाढीबाट घाइते भएका अधिकांशको उपचार भइरहेको छ । त्यहाँ नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगरलगायतको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ तथा जाजरकोटका बलबहादुर घर्ती मगरको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
गोरखाका टिमुरे गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीसँग तीन महिनाका नाबालक शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।
यसैगरी टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपछि घाइतेहरूको उद्धार गरी काठमाडौं ल्याइएको हो । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।









