काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट भएको क्षति, उद्धार तथा राहत कार्यबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले ब्रिफिङ गरेका थिए।
बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद्को यस घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर आवश्यक कदम चाल्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो ठाउँबाट सक्रिय रूपमा खटिन सबैलाई अनुरोधसमेत गरेका छन्।








