९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको उत्साह, अनुभव र विधिको शासन



अ+ अ-

काठमाडौँ: नेपालको वर्तमान राजनीतिक परिवेशमा एउटा असाधारण आशा जन्मिएको छ । लामो समयदेखि परम्परागत राजनीतिक शक्तिको शासन, अस्थिरता, भ्रष्टाचार, सुशासनको कमजोरी र राज्य संयन्त्रप्रतिको बढ्दो अविश्वासबाट निराश बनेका नेपाली नागरिकले परिवर्तनको खोजी गरेका थिए । यही असन्तुष्टिको पृष्ठभूमिमा युवाको नेतृत्वमा भएको आन्दोलनले पुरानो राजनीतिक समीकरणलाई विस्थापित ग¥यो र नयाँ राजनीतिक शक्तिलाई अत्यन्त बलियो जनादेशसहित सरकार सञ्चालन गर्ने अवसर प्राप्त भयो ।

वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाह स्वयं ३६ वर्षको उमेरमा नेपालको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नुभएको छ । २०८२ सालको निर्वाचनपछि करिब दुई तिहाई बहुमतको शक्ति प्राप्त गरेको छ । मन्त्रिपरिषद्को ठूलो हिस्सा पनि ४० वर्षभन्दा कम उमेरका व्यक्तिहरूको छ । यो परिवर्तन सामान्य राजनीतिक घटना होइन, नेपाली समाजले पुरानो राजनीतिक संस्कारप्रति दिएको गम्भीर सन्देश हो । त्यसैले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा पनि सामान्य सरकारप्रतिको भन्दा धेरै ठूलो छ ।

प्रधानमन्त्रीमा देशका लागि केही गरौँ भन्ने हुटहुटी देखिन्छ । अधिकांश मन्त्री तथा सत्तारूढ राजनीतिक नेतृत्वमा पनि नयाँपन, ऊर्जा र परिवर्तनको आकांक्षा देखिन्छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ तर शासन केवल इच्छा, उत्साह र लोकप्रियताबाट सञ्चालन हुँदैन । लोकप्रिय केही सामान्य कारबाहीहरु गरेर देशको अवस्थाको परिवर्तन गर्न सकिन्न । शासन सञ्चालनका लागि अनुभव, संस्थागत स्मृति, कानुनी ज्ञान, प्रशासनिक क्षमता, राजनीतिक परिपक्वता र निर्णयको दूरगामी प्रभाव बुझ्ने क्षमता पनि आवश्यक हुन्छ ।

अन्तरराष्ट्रिय अनुभव

परिवर्तनको सबैभन्दा ठूलो ऊर्जा युवाबाटै आउँछ । संसारका धेरै मुलुकमा युवा उमेरमै राजनीतिक नेतृत्वमा पुगेका व्यक्तिहरूले महत्वपूर्ण परिवर्तन गरेका उदाहरण देख्न सकिन्छ । न्युजिल्यान्डकी जाकिन्दा आर्डेन ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनिन् । उनले सङ्कटको समयमा सहानुभूति, संवाद र संस्थागत संयमलाई नेतृत्वको महत्वपूर्ण आधार बनाइन् । क्राइस्टचर्चमा भएको आतङ्कवादी हमलापछि उनको मानवीय प्रतिक्रिया विश्वभर उदाहरण बन्यो । उनी युवा थिइन् तर उनले विशेषज्ञता, प्रशासनिक संयन्त्र र संस्थागत प्रक्रियालाई नेतृत्वसँग जोडिन् ।

फ्रान्सका इमानुएल म्याक्रों ३९ वर्षको उमेरमा राष्ट्रपति बने । युवा उमेरले उनलाई नयाँ राजनीतिक दृष्टिकोण अघि सार्न सहयोग ग¥यो तर फ्रान्सजस्तो जटिल राज्य सञ्चालन गर्न उनले अनुभवी प्रशासनिक तथा कूटनीतिक संयन्त्रलाई प्रयोग गरे । यसबाट सिक्नुपर्ने पहिलो पाठ हो–युवाले नेतृत्व गर्न सक्छन्, तर युवाहरु अनुभवको विकल्प बन्न सक्दैनन् । अनुभव भन्नाले उमेर मात्र होइन, विगतका सफल र असफल अभ्यासबाट सिक्ने क्षमता नै वास्तविक अनुभव हो । आफूभन्दा अगाडि काम गरेका व्यक्तिको ज्ञान ग्रहण गर्नु कमजोरी होइन, नेतृत्वको परिपक्वता हो ।

विश्व इतिहासमा आन्दोलन वा क्रान्तिबाट युवा उमेरमै सत्तामा पुगेका नेताहरू पनि छन् तर उनीहरूको अनुभव एकै प्रकारको छैन । बुर्किनाफासोका थोमस साङ्कारा यसको महत्वपूर्ण उदाहरण हुन् । उनी ३३ वर्षको उमेरमा सन् १९८३ मा क्रान्तिमार्फत सत्तामा पुगे । उनले देशको नाम नै परिवर्तन गरेर बुर्किनाफासो राखे । भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य, महिला सहभागिता तथा आत्मनिर्भरतालाई प्राथमिकता दिए । उनको शासनकाल छोटो भए पनि उनको राजनीतिक आदर्श आजसम्म प्रभावशाली छ । बुर्किनाफासोको राष्ट्रपतिको आधिकारिक विवरणले पनि ४ अगस्ट १९८३ देखि १५ अक्टोबर १९८७ सम्म उनको नेतृत्व र क्रान्तिकारी कार्यक्रमको उल्लेख गर्छ तर साङ्काराको अनुभवको अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । क्रान्तिकारी उत्साह, व्यक्तिगत लोकप्रियता र परिवर्तनको तीव्र चाहनाले मात्र दीर्घकालीन रुपमा लोकतान्त्रिक संस्था निर्माण गर्न सक्दैन । सन् १९८७ मा आफ्नै सहकर्मी ब्लेज कम्पाओरेको नेतृत्वमा भएको ‘कू’ मा परी उनको अवसान भएको इतिहास छ ।

दुई तिहाइको बहुमत अवसर हो

नेपालमा वर्तमान सरकार आन्दोलनको राजनीतिक ऊर्जा र जनताको मतबाट बनेको हो । त्यसैले यसले क्रान्तिकारी आवेगलाई लोकतान्त्रिक संस्थागत रूपान्तरणमा बदल्नुपर्छ, क्रान्तिको नाममा संस्था कमजोर बनाउने दिशामा जानु हुँदैन । वर्तमान सरकारसँग एउटा असाधारण राजनीतिक शक्ति छ । झन्डै दुई तिहाइको जनादेश छ । यस्तो शक्ति धेरै सरकारलाई प्राप्त हुँदैन तर ठूलो बहुमतसँग ठूलो जिम्मेवारी पनि आउँछ । जनताले सरकारलाई अझ बढी जिम्मेवार भएर काम गर्ने अवसर दिएका हुन् ।

नेपालमा पुराना राजनीतिक नेतृत्वहरुप्रति नागरिकहरूको आक्रोश छ । भ्रष्टाचार, ढिलासुस्ती, राजनीतिक संरक्षण, दण्डहीनता र प्रशासनिक कमजोरी हटाउन कठोर कदम चाल्न आवश्यक छ, तर कठोर कदम विद्यमान कानुन, प्रक्रिया, विधिसम्मत हुनुपर्दछ । लोकतन्त्रमा सरकारले गलत काम गर्ने व्यक्तिमाथि कारबाही गर्नसक्छ तर कारबाहीको पनि विधि हुन्छ, प्रक्रिया हुन्छ, प्रमाण चाहिन्छ । सम्बन्धित व्यक्तिलाई आफ्नो कुरा राख्ने अवसर हुन्छ । निर्णयमाथि पुनरावलोकनको बाटो हुन्छ । न्यायिक परीक्षणको सम्भावना हुन्छ । यी प्रक्रिया जटिल देखिएता पनि लोकतन्त्रको सुन्दरता भनेकै यही हो । विधिको शासन व्यक्तिको हितका लागि होइन, सबैका लागि समान सुरक्षा सुनिश्चित गर्न आवश्यक हुन्छ ।

नेपालको प्रशासनिक संयन्त्रमा दशकौँ काम गरेका कर्मचारी, न्यायाधीश, कूटनीतिज्ञ, प्राध्यापक, अर्थशास्त्री, प्राविधिक र सुरक्षा अधिकारीहरू छन् । उनीहरूसँग सबै उत्तर नहुन सक्छन् तर राज्य सञ्चालनका अनेक अनुभव छन् । नयाँ सरकारले उनीहरूलाई पुरानो व्यवस्था बोकेका व्यक्ति भनेर मात्र हेर्नु हुँदैन । स्मरण रहोस्, यी गुणस्तरयुक्त अनुभवी व्यक्तित्वहरू सरकारका नजिक पुगेर आत्मप्रशंसा गर्न चाहँदैन, उनीहरू स्वाभिमानी हुन्छन् । सरकारले खोजी गर्न सक्नुपर्छ । पुरानो पुस्ताको कमजोरी र अनुभवबाट पनि नयाँ पुस्ताले सिक्नुपर्छ । युवाको ऊर्जा र अनुभवी पुस्ताको ज्ञानबीच सम्बन्ध स्थापित गर्नसके मात्र राज्यसंयन्त्र प्रभावकारी हुन्छ । युवाले दिशा दिन सक्छन्, अनुभवीले बाटोको जोखिम देखाउन सक्छन् । प्रविधिले गति दिन सक्छ, संस्थाले स्थायित्व दिन्छ । राजनीतिक इच्छाशक्तिले निर्णय गराउन सक्छ, प्रशासनिक क्षमताले त्यसलाई कार्यान्वयनमा लैजान्छ । यी सबै एकअर्काका परिपूरक हुन् ।

सरकारका लागि केही सुझावहरू

वर्तमान सरकार देशको अवस्था परिवर्तन गर्न जिम्मेवारीका साथ सत्तामा पुगेको छ । गल्ती गर्ने छुट वर्तमान सरकारलाई छैन । तसर्थ, केही विषयहरूलाई प्राथमिकतामा राखी शासन सञ्चालन गर्नु उपयुक्त हुन्छ । पहिलो हो, उत्साहलाई प्रणालीमा रूपान्तरण गर्नुपर्छ । प्रधानमन्त्रीको हुटहुटी सकारात्मक शक्ति हो तर प्रधानमन्त्रीको व्यक्तिगत ऊर्जा सम्पूर्ण राज्य संयन्त्रको कार्यक्षमतामा परिणत हुनुपर्छ । आफ्नो स्थायी संयन्त्रमाथि पूर्णविश्वास गर्नुपर्छ र त्यसलाई सक्षम बनाउनुपर्छ ।

दोस्रो हो, कानुनी प्रक्रिया र संस्थागत मर्यादा कहिल्यै नाघ्नु हुँदैन । भ्रष्टाचारविरुद्ध कठोरता आवश्यक छ तर कठोरता कानूनसम्मत हुनुपर्छ । सरकारले आफ्नो लोकप्रियता वा बहुमतको बलमा संवैधानिक संस्था, संसद्, न्यायपालिका, प्रशासन वा स्वतन्त्र नियामक निकायहरुलाई अझ बलियो बनाउनुपर्छ । तेस्रो हो, छोटो समयको लोकप्रियतालाई भन्दा दीर्घकालीन सुधार रोज्नुपर्छ । नयाँ सरकारसँग जनताको आशा धेरै हुँदा पनि सबै कुरा एकै वर्षमा परिवर्तन गर्न खोज्दा प्रशासनिक अव्यवस्था उत्पन्न हुनसक्छ । सय दिनमा देखिने परिणामभन्दा १० वर्षपछि पनि टिक्ने संस्थागत सुधार महत्वपूर्ण हुन्छ । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पूर्वाधार, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण र न्याय प्रणालीका क्षेत्रमा स्पष्ट प्राथमिकता निर्धारण गरेर चरणबद्ध रूपमा काम गर्नुपर्छ । चौथो हो, आलोचनालाई स्वागत गर्ने संस्कारको विकास हुनुपर्छ । लोकतन्त्रमा आलोचना सरकारको कमजोरी होइन, सरकारलाई सुधार्ने माध्यम हो । सञ्चारमाध्यम, विपक्षी दल, नागरिक समाज, प्राज्ञिक क्षेत्र र नागरिकले उठाएका प्रश्नलाई पुरानो सोच वा परिवर्तनविरोधीको संज्ञा दिँदै खारेज गर्नु हुँदैन । सरकारको सफलताका लागि विश्वसनीय आलोचना आवश्यक हुन्छ ।

नयाँ नेतृत्वका लागि विश्वको सन्देश

दक्षिण एसियाली मुलुकमा भएका ‘जेन्जी’ पुस्ताको आन्दोलनले एउटा नयाँ राजनीतिक युग सुरु गरेको देखिन्छ । नेपालमा २०८२ सालको जेन्जी आन्दोलनले तत्कालीन सरकार ढालेपछि २०८२ सालको निर्वाचनमा ठूलो राजनीतिक परिवर्तन भयो । बङ्गलादेश र श्रीलङ्कामा पनि युवा तथा जनआन्दोलनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिए तर ‘च्याथम हाउस’ले हालै गरेको विश्लेषणमा यी नयाँ सरकारहरूले ठूलो जनादेश पाए पनि शासन सञ्चालनको जटिलता र अनुभवको कमीका कारण चुनौती सामना गरिरहेको उल्लेख छ । यसको अर्थ आन्दोलन जित्नु र राज्य चलाउनु फरक कुरा हो भन्ने पुष्टि हुन्छ । आन्दोलनले असन्तुष्टि व्यक्त गर्छ । शासनले समाधान दिनुपर्छ र नयाँ संस्था निर्माण गर्नुपर्छ । आन्दोलनमा नारा पर्याप्त हुनसक्छ । शासनमा नीति, बजेट, कानून, प्रशासन, कूटनीतिलाई जनता र देशका पक्षमा कार्यान्वयन गर्न हुटहुटीसहितको विशेष क्षमता चाहिन्छ ।

अन्त्यमा, नेपालको वर्तमान सरकारसँग एउटा दुर्लभ अवसर छ । पुराना राजनीतिक शक्तिप्रतिको निराशा, युवाको ऊर्जा, जनताको परिवर्तनको चाहना र झन्डै दुई तिहाइको संसदीय शक्ति, अहिले यी चारवटै कुरा एउटै सरकारको हातमा आएको अवस्था छ । वर्तमान सरकारका लागि आजको सबैभन्दा महत्वपूर्ण अस्त्र भनेकै ऊर्जाले भरिएका शिक्षित युवाहरू शासनमा हुनु हो । उनीहरुले गरेको निर्णयहरु तथ्यमा आधारित होस् । नेतृत्वले राजनीतिक संस्कार स्वीकार गरोस् । तीव्र सुधारका दिशामा अघि बढोस् । नेपाली जनताले करिब दुई तिहाइको वर्तमान सरकारलाई केवल एउटा अर्को सरकारका रूपमा हेरेका छैनन्, परिवर्तनको आशाको प्रतिनिधिका रूपमा हेरेका छन् । इतिहासले वर्तमान सरकारलाई विशेष जिम्मेवारीसहित ऐतिहासिक अवसर प्रदान गरेको छ । अपारजनताको समर्थनसहित युवाले नेतृत्व गरेको वर्तमान सरकारका बीच मुलुकमा व्यप्त भ्रष्टाचार, विकृति–विसङ्गति र ढिलासुस्तिको अन्त्य गर्दै सुशासन, समृद्धि, दिगो विकास गर्ने चुनौती रहेको देखिन्छ । निर्वाचनका क्रममा जनतामाझ पुग्ने र सरकार निर्माण गर्नेक्रममा वाचा गरिएअनुसार त्यसकिसिमका चुनौतीको सामना गर्न वर्तमान सफल हुने विश्वास गरिएको छ ।रासस