९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ।

सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै सञ्चारको विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभयो। स्वतन्त्रतासँगै सञ्चारमाध्यमको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै उहाँले नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभयो।

गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै मन्त्री तिमिल्सिनाले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

संकट, प्राकृतिक विपद् तथा सार्वजनिक स्वास्थ्य समस्याका समयमा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुने उहाँले बताउनुभयो। त्यस्ता अवस्थामा नागरिकलाई सही सूचना उपलब्ध गराउनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न जिम्मेवार सञ्चारमाध्यमले योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले एआई, गलत सूचना तथा दुष्प्रचार सीमापार फैलिन सक्ने र जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का प्रभावसमेत बहुदेशीय हुने भएकाले देशहरूबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको बताउनुभयो। विश्वभरका सञ्चारमाध्यमले वित्तीय दिगोपना, बदलिँदो पाठक, दर्शक तथा श्रोताको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

सार्वजनिक सेवा प्रसारणका चुनौती अझ गम्भीर रहेको भन्दै उहाँले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको बताउनुभयो।

एआई, डिजिटल प्लेटफर्म, मोबाइल कनेक्टिभिटी र स्ट्रिमिङ सेवाले सामग्री उत्पादनदेखि वितरण तथा दर्शकसँगको अन्तर्क्रियासम्म सञ्चारको सम्पूर्ण शृङ्खला परिवर्तन गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यसलाई चुनौतीका रूपमा मात्र नभई नयाँ सम्भावनाका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो।

एआईको प्रयोगमा मानवीय सम्पादकीय निर्णय, तथ्य प्रमाणीकरण, जवाफदेहिता र व्यावसायिक नैतिकतालाई प्रविधिले विस्थापित गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो। एआईले सामग्री तयार गर्न सहयोग गर्न सक्ने भए पनि त्यसको सत्यता, सन्दर्भ, सामाजिक प्रभाव र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानवमै रहने उहाँको भनाइ थियो।

कृत्रिम रूपमा सिर्जना गरिएका सामग्री तथा डीपफेक प्रविधिले झुटो सूचनालाई वास्तविकजस्तो देखाउन सक्ने अवस्था सिर्जना भएकाले नागरिकको विश्वास सञ्चारमाध्यमका लागि सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको मन्त्री तिमिल्सिनाले बताउनुभयो। प्रविधिको क्षमता र पत्रकारिताको विश्वसनीयतालाई सँगसँगै अघि बढाउन सक्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने उहाँको धारणा थियो।

नेपाल दक्षिण एसियामा स्वतन्त्र सामुदायिक रेडियो स्थापना गर्ने पहिलो देश भएको उल्लेख गर्दै उहाँले रेडियो सगरमाथाबाट सुरु भएको सामुदायिक रेडियोको यात्रा अहिले देशभर फैलिएको बताउनुभयो। सामुदायिक रेडियोले हिमाल, पहाड र तराईका विभिन्न समुदायलाई जोड्नुका साथै सार्वजनिक बहसमा आउन नसकेका नागरिकका आवाजलाई स्थान दिएको उहाँले उल्लेख गर्नुभयो।

विपद्, संकट र स्वास्थ्य आपत्कालका समयमा सामुदायिक रेडियोले स्थानीय भाषामा तत्काल र विश्वसनीय सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले भूकम्प, बाढी, पहिरो तथा महामारीलगायतका संकटमा सूचना, जनचेतना तथा उद्धार र राहतसम्बन्धी जानकारी पुर्‍याउन रेडियो प्रभावकारी माध्यम बनेको बताउनुभयो।

डिजिटल रूपान्तरणको अर्थ नयाँ प्रविधिको प्रयोग मात्र नभई विश्वसनीयता, पत्रकारिताको व्यावसायिकता, तथ्य जाँच, सार्वजनिक उत्तरदायित्व र नागरिकको विश्वासलाई बलियो बनाउनु पनि भएको मन्त्री तिमिल्सिनाले बताउनुभयो।

उहाँले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा जोड दिँदै युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्न तथा उनीहरूको आवाज, विचार र सिर्जनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने बताउनुभयो। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, सीमान्तकृत समुदाय र विभिन्न भाषाभाषी नागरिकलाई समान रूपमा समेट्नु सार्वजनिक सेवा प्रसारणको महत्वपूर्ण जिम्मेवारी भएको उहाँको भनाइ थियो।