६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’



अ+ अ-

कास्की। पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आज हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा) गरिएको छ ।

पोखरा–१७ स्थित माछापुच्छ्रे विम्ब पार्क (ड्यामसाइड) बाट सुरु भएको हाइकिङ रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’ मा पुगेर सम्पन्न भएको थियो ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा विश्व पर्यटन दिवसका दिनमा गरिने पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तथा यस क्षेत्रको पर्यटन प्रवर्द्धनका सात किमी दूरीमा हाइकिङ गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि, पर्यटनकर्मी, सञ्चारकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले ड्यामसाइडदेखि रानीवन हुँदै पुम्दीकोटसम्म व्यवस्थित पैदलमार्ग निर्माणको काम अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

“एसियाली विकास बैंकको सहयोगमा पैदलमार्गसँगै प्रतीक्षालय, रेलिङलगायतका संरचना निर्माण गर्नेछौँ । ड्यामसाइडदेखि ‘८५’ क्षेत्रसम्म करिब २७ किलोमिटर फुटट्र्याक निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म करिब सात किलोमिटर पदमार्ग निर्माण भइसकेको र बाँकी क्षेत्रमा काम गर्न बाँकी छ”, वडाध्यक्ष बरालले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराका डाँडाकाँडामा रहेको पर्यटकीय सम्भावनालाई उपयोग गर्न पदयात्रा र पर्वतीय दौड जस्ता गतिविधि प्रभावकारी हुने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यक्रम अधिकृत युवराज गुरुङले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले खेल पर्यटनले पर्यटकको पोखरा बसाइ अवधि लम्ब्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्वतीय दौड प्रतियोगितालाई मन्त्रालयले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने उहाँको भनाइ थियो ।

पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक दीननाथ बरालले आगामी असोज १० गते हुने तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौडको तयारी स्वरूप हाइकिङ आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा खुलातर्फसहित विभिन्न छ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । विश्वशान्ति स्तूपबाट सुरु हुने मुख्य दौड विशाल महादेवको मूर्ति, पोखरा–२२ को वडा कार्यालय हुँदै कालाबाङ न्यालडाँडामा रहेको कालाबाङ घरेडी बुद्धपार्कसम्म करिब आठ किलोमिटर दूरीमा सञ्चालन हुनेछ ।

यस वर्षको संस्करणमा स्वदेश तथा विदेशका धावकलाई सहभागी गराउने तयारी भइरहेको केन्द्रका सचिव सागर सुनारले जानकारी दिनुभयो ।

हाइकिङका क्रममा सहभागीले पुम्दीकोटको ५१ फिट अग्लो विशाल महादेवको मूर्ति तथा पछिल्लो समय सञ्चालनमा आएको ‘ड्रिम सिटी’ को अवलोकन गरेका थिए । रासस