६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न



काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शनिबार काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक ग्वलःदे नवाली टोलमा अवस्थित पुनःनिर्माण गरिएको लिच्छविकालीन भगवान् श्री नित्यनाथ (नासःद्य छेँ) मन्दिरको उद्घाटन गर्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ ।

विसं १९९० को भूकम्पले भत्किएको मन्दिर लामो समयपछि पञ्चायतकालमा ढलान गरेर बनाइएको थियो । विसं २०७२ को भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण सम्पन्न गरी आज शुभारम्भ गरिएको हो । नित्यनाथलाई बाजागाजाका देवताका रूपमा पूजिन्छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले महानगर क्षेत्रभित्रका मूर्त, अमूर्त सम्पदाको संरक्षणका लागि महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

यसबीचमा ८२ वटा अमूर्त र ७८ वटा मूर्त सम्पदाको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो । एघार वर्षअघिका भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणको काम प्रायः अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कार्यवाहक नगरप्रमुख डङ्गोलले संरक्षणका काम गरिनुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिका वडा नं ८ का अध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले पुनर्निर्माण सम्पन्न गरिएको नित्यनाथ मन्दिरले संस्कार सिकाएर राख्न सहयोग गर्ने बताउनुभयो । मन्दिरका माध्यमबाट बाजागाजा नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने वातावरण बनेको पनि उहाँले सुनाउनुभयो ।

नेपाल धर्म, संस्कृति, चाडपर्व र जात्राका कारण चिनिएको उल्लेख गर्दै वडाध्यक्ष सङ्गतले पशुपति क्षेत्रका ग्वल नवाली टोलमा पुर्खाले जात्रा, पर्व, संस्कृति संरक्षणका लागि नित्यनाथ मन्दिर बनाएको बताउनुभयो । त्यसै टोलमा २०४२ सालमा स्थापना भएको पुस्तकलाय पनि भूकम्पले भत्किएकामा त्यसलाई पुनर्निर्माण गरी हस्तान्तरण गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

महानगरपालिका वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले महानगर क्षेत्रका मौलिक संस्कृति संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट धेरै काम भएको बताउनुभयो । यस्ता कामलाई आगामी दिनमा निरन्तरता दिइने पनि उहाँको प्रतिबद्धता थियो ।

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यस वर्षको ज्यापू दिवसका अवसरमा आगामी योमरी पून्हिका दिन जयवागेश्वरीबाट नै शोभायात्रा गरी वसन्तपुर पुगेर विशेष सभा गर्नेगरी तयारी भएको जानकारी गराउनुभयो ।

सन्ध्या पुस्तकालयका अध्यक्ष एवं नवाली टोल बाजा खलका कार्यवाहक अध्यक्ष शिवकुमार सङ्गत र सचिव सुजन सङ्गतलगायतले सङ्गीत संस्कृति पुस्तान्तरणको काम गर्न सहयोगी हुनेगरी नित्यनाथ मन्दिर पुनर्निर्माण भएको बताउनुभयो । दाफा भजन, यस क्षेत्रमा लोप हुन लागेका बाजागाजाको संरक्षणका लागि पनि नित्यनाथ मन्दिरबाट सहयोग पुग्ने उहाँको भनाइ थियो ।

सो अवसरमा मन्दिर पुनर्निर्माणका लागि नक्सा ड्रइङ, डिजाइन गरी सहयोग गर्ने इन्जिनियर सुशान्त वैद्य, महानगरपालिका सम्पदा विभाग प्रमुख कुमारी राई र पुनर्निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न वडाध्यक्ष सङ्गतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मौलिक बाजागाजा र नृत्य सिक्ने विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।