२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government

दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा

दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा
अ अ+ अ-

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय विराटनगरमार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले उपलब्ध गराएको बजेटमा दोबेला प्रहरी चौकीका लागि आवश्यक कार्यालय भवन निर्माण गरिएको हो।

विसं २०५१ सालमा स्थापना भएको दोबेला प्रहरी चौकीले वार्षिक रु १८ हजार भाडा तिरेर व्यक्तिको घरमा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको थियो। लामो समयसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको दोबेला प्रहरी चौकीका लागि मूल्य अभिवृद्धि करसहित रु ४० लाख ७८ हजार ३९० बजेटमा ठेक्कामार्फत घेराबारसहितको सुविधा सम्पन्न कार्यालय भवन निर्माण गरिएको हो।

विसं २०८२ चैत–१७ गते ठेकेदार कम्पनी बासु कन्ट्रक्सन एण्ड सप्लायर्ससँग सम्झौता गरिएको दोबेला प्रहरी चौकीको कार्यालय भवन तोकिएकै समयमा विसं २०८३ असार–१५ गते सम्पन्न भएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिएका छन्। नवनिर्मित दोबेला प्रहरी चौकीको कार्यालय भवन शुक्रबार कोशी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन्।

जस्तापाताको छाना भएको एकतले दोबेला प्रहरी चौकीको कार्यालय भवनमा जम्मा नौ वटा कोठा रहेको जनाइएको छ। दोबेला प्रहरी चौकीको नवनिर्मित कार्यालय भवनमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत कक्ष, कार्यालय प्रमुखको कक्ष, ब्यारेक र भान्छा घर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन्।

दोबेला प्रहरी चौकीका लागि आवश्यक कार्यालय भवन निर्माण गर्न स्थानीयले चन्दा संकलन गरेर किनेको तीन रोपनी १४ आना जग्गा नि:शुल्क उपलब्ध गराएको थियो। तत्कालीन द्वन्द्वका क्रममा विस्थापित भएको दोबेला प्रहरी चौकी पुनः सोही ठाउँमा विसं २०६४ सालमा स्थापना गरेर सञ्चालन गरिएको हो।

लामो समयसम्म व्यक्तिको साँघुरो घरमा भाडा तिरेर सञ्चालन हुँदै आएको प्रहरी चौकीको कार्यालय आफ्नै भवनमा सरेपछि सेवा प्रवाहमा समेत सहज हुने प्रहरीले बताएका छन्।

प्रहरी चौकीको कार्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेखा कँडेलसहित तीनवटै सुरक्षा निकायका प्रमुख, स्थानीयवासी तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो।