३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी



अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपूर्जा मागिनुलाई नकारात्मक रुपमा लिन नहुने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री चौधरीले किसानको जग्गाको क्षेत्रफलका आधारमा आवश्यक मलको मात्रा निर्धारण गर्न लालपूर्जा वा जग्गाको विवरण मागिएको बताउनुभयो ।

उहाँका अनुसार प्राविधिकको सिफारिसका आधारमा किसानको जग्गाको क्षेत्रफलअनुसार मलको मात्रा निर्धारण गरिने भएकाले जग्गासम्बन्धी विवरण आवश्यक परेको हो । लालपूर्जा मागिएको विषयलाई नकारात्मक रुपमा प्रचार नगर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री चौधरीले मलको आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको जानकारी दिनुभयो । केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो । कृषिको कार्यान्वयन स्थानीय तहले गर्ने भएकाले मल वितरणको जिम्मेवारी पनि स्थानीय तहले नै सम्हालिरहेको उहाँको भनाइ छ ।

मन्त्री चौधरीले मध्यपूर्वमा जारी द्वन्द्वका कारण यसपटक मल आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गर्नुभयो । यद्यपि, सरकारले भारतसँगको जीटुजी सम्झौतामार्फत तथा अन्य स्रोतबाट समेत मल ल्याउने प्रक्रिया अघि बढाइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार साउन १ गतेदेखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानसम्म पठाइएको छ । त्यस्तै, ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको छ । चालु आर्थिक वर्षमा करिब २ लाख ८०० मेट्रिक टन मल भित्र्याउने प्रक्रिया अघि बढिरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय बजारबाट मल आयात गर्नुपर्ने भएकाले प्राविधिक तथा ढुवानीसम्बन्धी कारणले कहिलेकाहीँ आपूर्तिमा ढिलाइ हुने उहाँले बताउनुभयो । वर्षायाममा मल भिज्ने जोखिमसमेत हुने भएकाले ढुवानीमा थप सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

मल वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले अनलाइन प्रक्रिया अघि बढाइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो । किसानले मल वितरणसम्बन्धी विवरण अनलाइन प्रणालीमार्फत समेत हेर्न सक्ने व्यवस्था मिलाइरहेको उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले प्राविधिक सिफारिसका आधारमा आवश्यकताअनुसार मल वितरण गरिने भएकाले किसानको जग्गाको विवरण लिनु त्यसैको प्रक्रिया भएको स्पष्ट पार्नुभयो ।