३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह



अ+ अ-

काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मानवीय सहायता संकटका बेला गरिने सहयोगमा मात्र सीमित नभई मानव–मानवबीचको साझा जिम्मेवारी र सेवाभावको अभिव्यक्ति भएको बताउनुभयो ।

मानवीय सहायता प्रभावकारी बनाउन संस्थागत प्रयाससँगै व्यक्तिगत सेवाभाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पृथ्वी सबै मानवको साझा घर भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दै उहाँले एकअर्काको दुःख–सुखमा साथ दिनुपर्ने बताउनुभयो ।

देश, क्षेत्र, समुदाय, टोल वा घरका आधारमा विभाजित नभई मानवीय सेवामा एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । मानवीय सहायता प्रदान गर्न विश्वव्यापी रूपमा संस्थागत संरचना विकास भएको र सेवाभाव भएका मानिसहरू विभिन्न क्षेत्रमा जोडिएर काम गरिरहेको उल्लेख गर्दै उहाँले सामूहिक सेवाभावले कठिन परिस्थितिलाई सहज बनाउन सहयोग पुर्‍याइरहेको बताउनुभयो ।

मानवीय सहायता वितरणका क्रममा सरकारी तथा गैरसरकारी संस्थामाथि गुनासो र आलोचना आउने गरेको स्मरण गर्दै गृहसचिव श्रेष्ठले आलोचनाका कारण सेवाभावबाट विचलित हुन नहुने बताउनुभयो । काम गर्दा प्रशंसा र आलोचना दुवै आउने भएकाले प्रशंसाले मात्तिने र आलोचनाले आत्तिने अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ थियो ।

उहाँले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै कर्तव्यपथमा निरन्तर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले मानवीय सहायता प्रभावकारी बनाउन समुदाय र स्थानीय तहको सशक्तीकरणमा जोड दिनुभयो । यस वर्षको नाराले समुदायको सशक्तीकरण, साझेदारी र मानवीय कार्यमा सबैको सहभागितालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

संकटमा परेका मानिसको जीवन र मर्यादाको संरक्षण, मानवीय कार्यमा खटिनेहरूको सुरक्षा तथा अन्तर्राष्ट्रिय मानवीय कानुनबारे जनचेतना अभिवृद्धि गर्नुपर्नेमा शाहीले जोड दिनुभयो । आगामी दिनमा मानवीय सहायता अझ प्रभावकारी बनाउन स्थानीय तहलाई सशक्त र साधन–स्रोत सम्पन्न बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा मानवीय कार्यमा खटिएर उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रहरी नायब निरीक्षक प्रेम साउद, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन निर्देशनालयका सशस्त्र प्रहरी नायब उपरीक्षक कमलबहादुर अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समिति रौतहटकी सदस्य रुपकली देवी राम र कञ्चनपुरको सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव कमला खड्कालाई सम्मान गरिएको हो ।

– न्युज एजेन्सी नेपाल