काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा भएको स्कारपियो दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान १०ः४ बजे अस्पताल पुर्याइएकी बडुको १०ः२९ बजे उपचारकै क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार मृतक बडुको शव छाउनी अस्पतालमै राखिएको छ। उनी रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ। उनीहरू उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडु हुन्। उनीहरूलाई पनि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान काठमाडौं लगिएको थियो।
यसैगरी दुर्घटनामा घाइते स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा परी स्कारपियोमा सवारहरू घाइते भएका थिए।











