२४ असार २०८३, बुधबार
,
Latest
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी करेन्ट लागेर कर्मचारीको मृत्यु नारायणी अस्पतालमा लामो समयददेखि जडान हुन नसकेको क्याथ ल्याब जडानको अन्तिम चरणमा पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली धरानबाट दश जना विचौलिया पक्राउ इजरायल जाने नेपाली श्रमिकका समस्या समाधान गर्न नेपाल–इजरायलबीच छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल ?



अ+ अ-

काठमाडौ ।
घटना १

गत माघमा (जनवरी २३) मा भेनेजुयलाका निर्वाचित राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिँदै प्रतिपक्षी नेता जुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले त्यसको कडा शब्दमा आलोचना गरे। गुवाइदोका पक्षमा अमेरिकाले समर्थन जनाएपछि त्यसको विरोधमा दाहालले विज्ञप्तिसमेत जारी गरे।

नेपालबाट भौगोलिक रुपमा समेत धेरै टाढा रहेको र कूटनीतिक सम्बन्ध पनि खासै नभएको भेनेजुयलाका विषयमा दाहालले अमेरिकाको आलोचना गरेपछि त्यसबारे लामो समयसम्म चर्चा भयो। त्यो घटनाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा समेत चिसो ल्याउने काम गरेको थियो।

अमेरिकाको चर्को आलोचनापछि सम्बन्ध बिग्रिएको अनुमानका बीच दाहाल गत चैतमा श्रीमती सीताको उपचारका लागि अमेरिका गएर फर्किए। अमेरिका भ्रमणको वातावरण मिलाउने काम नेपालस्थित अमेरिकी राजदूतले गरेका थिए। यसबीचमा दाहाल र अमेरिकाको सम्बन्ध सुधार भएको अनुमान गरियो तर असारमा नेपाल भ्रमणमा आएका भेनेजुयलाका राष्ट्रपति मडुरोका छोरासँग दाहालले आफ्नो प्रतिबद्धता दोहोर्याए।
घटना २

साउन दोस्रो साता क्युवाली प्रतिनिधिको समेत उपस्थितिमा काठमाडौंमा आयोजना गरिएको क्युवाप्रति ऐक्यबद्धतासम्बन्धी नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा दाहालले अमेरिकी प्रतिबन्धविरुद्धको क्युवाली संघर्षमा ऐक्यबद्धता जनाए। कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अमेरिकालाई कटाक्ष गर्दै अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रताप्रेमी जनतालाई मार्न नसकिने बताए। त्यस क्रममा उनले क्युवाप्रति अमेरिकी नीतिको कडा आलोचना गरे।
घटना ३

मंगलबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा दाहालले अमेरिकाको महत्वाकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन्। वाङ नेपाल भ्रमण सकेर स्वदेश फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दाहालले यस्तो प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दाहालले नेपाल असंलग्न नीतिमा दृढ रहेको र चीनविरुद्ध अघि सारिएको कथित इन्डो प्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने बताएको उल्लेख छ। दाहालले चीनको विकासमा अवरोध गर्ने कुनै पनि परियोजना स्वीकार नगर्ने र चीनको विकास नेपालका लागि पनि अवसर भएको बताएको मन्त्रालयले जनाएको छ। दाहालले हङकङमा पछिल्लो समय देखिएको समस्यालाई पनि चीनको आन्तरिक मामिला भएको बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दाहालको यो प्रतिबद्धता र अभिव्यक्तिले पनि अमेरिकालाई चिढ्याउने काम गरेको छ। दाहालको भनाइलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाइसकेको छ। अमेरिकी दूतावासका प्रवक्ताले दाहालको भनाइलाई पुष्टि गराउन बेइजिङस्थित अमेरिकी दूतावासमार्फत प्रयास भइरहेको र नेपाल सरकारको आधिकारिक धारणा पर्खिरहेको बताएका छन्। ‘यो सत्य हो भने यो भड्काउने कुरा हो, यसबाट हामी नेपालको वर्तमान अवस्थाबारे प्रस्ट हुनेछौं,’ दूतावासका प्रवक्ताले दाहालको भनाइप्रति लक्षित गर्दै भने। इन्डोप्यासिफिक स्ट्राटेजी चीनको महत्वाकांक्षी परियोजना बिआरआईलाई चुनौती दिन अमेरिकाले अघि सारेको हो।

दाहालनिकट स्रोतले पनि चिनियाँ विदेशमन्त्रीसँगको भेटमा छिमेकीप्रति लक्षित कुनै पनि परियोजना नेपालले स्वीकार नगर्नेबारे छलफल भएको पुष्टि गरेको छ। ‘छिमेकीलाई परिलक्षित गर्दै ल्याइएका परियोजना नेपालका लागि स्वीकार्य हुँदैनन्,’ दाहालले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीलाई स्रोतले उद्धृत गर्यो। दाहालले इन्डो प्यासिफिक स्ट्राटेजीबारे चिनियाँ विदेशमन्त्रीसँग पूर्वतयारीअनुसार नै कुरा गरेको स्रोतले पुष्टि गरेको छ।

राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्को गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन्। सापकोटा दाहालका अमेरिकाविरोधी अभिव्यक्ति आश्चर्यजनक ढंगले आएपनि त्यसका पछाडि विभिन्न पक्षले काम गरेको बताउँछन्। नेकपाभित्रको पूर्वमाओवादी खेमाको विश्वास जित्न जित्न दाहालले आफूलाई अमेरिकाविरोधी देखाउने प्रयास गरिरहेको सापकोटा दाबी गर्छन्। सुरुदेखि नै साम्राज्यवाद र विस्तारवादको विरोध गर्दै आएको माओवादी खेमालाई अमेरिकाको विरोध गर्दा विश्वासमा लिन यस्तो गरेको हुनसक्ने उनको तर्क छ। पहिले भारत र विस्तारवादको विरोध गरे पनि अहिले त्यसलाई निरन्तरता दिँदा भारतबाट तत्कालै मूल्य चुकाउनुपर्ने भएकाले दाहालले भारतसँगको सम्बन्धलाई सन्तुलन गर्दै अमेरिकाको विरोध गरिरहेको सापकोटा बताउँछन्।

अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत रहेको सापकोटाको भनाइ छ। नेपालमा चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका बेला चीनको समर्थनमा बोल्दा त्यसले चीनलाई ठूलो गुन लाग्ने बुझेर उनले पछिल्लो अभिव्यक्ति दिएको सापकोटाको अनुमान छ। दाहालले भित्रैदेखि अमेरिकालाई चिढ्याएको मान्न भने सापकोटा तयार छैनन्। उनी भित्रीरुपमा दाहाल र अमेरिकाबीच भद्र समझदारी रहेको दाबी गर्छन्। भेनेजुयला प्रकरणमा विवादमा तानिएपछि पनि अमेरिकाले दाहाललाई भिसा दिएको सन्दर्भले यसलाई पुष्टि गर्ने उनी बताउँछन्। कतिपय विषय कार्यकर्तामाझ खपतका लागि बोल्नुपर्ने बाध्यताबारे दाहालले अमेरिकालाई सहमत गराएको सापकोटाको तर्क छ।
नागरिक दैनिकबाट