३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित



अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६०० जनाभन्दा बढी सर्वसाधारणलाई उनीहरू बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ ।

काठमाडौँ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट ६०९ जना लाभान्वित भएका हुन् । काठमाडौँमा साउन २४ गते १००, पोखरामा साउन २७ र २८ गते ३५०, बेनीमा २९ र ३० गते सञ्चालन भएको शिविरबाट १५९ जनालाई सेवा उपलब्ध गराएको गाउँ कार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर बजार झरेका जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम बेनीको शिविर सम्पन्न गरेर आज गाउँ फर्किएका छन् ।

ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको रोकाले बताउनुभयो ।

गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको छ ।

बेनीमा बस्दै आउनुभएकी धवलागिरि गाउँपालिका–३ मुनाकी मनरूपी गर्बुजाले बर्खाका समयमा गाउँमा रहेको वडा कार्यालयमा पुग्दा हुने समय र खर्चको बचतका साथै झन्झट हटेको बताउनुभयो ।

तातोपानीमा बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–४ मुदीकी ७५ वर्षीया जसिका पुनले ज्येष्ठ नागरिक र अशक्तलाई शिविरले राहत मिलेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित साथै सातवटै वडाका अध्यक्ष र सचिवहरूले शिविरमा सेवा दिनुभएको छ । धवलागिरिमा करिब तीन हजार जनालाई वार्षिक रु १० करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।

सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि औपचारिक रूपमा बसाइँसराइ गर्ने अवस्था नआओस भनेर घुम्ती शिविरमार्फत बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराउने अभ्यास गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । रासस