तेहरान। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभएको छ ।
सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबिच सन्देश आदानप्रदान भइरहेको जानकारी दिनुभयो ।
तर, यस्तो सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो । गत जुनमा दुई देशबिच युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाउनुभयो ।
यसैबिच, ‘स्टे«ट अफ होर्मुज’हुँदै पानी जहाजको सुरक्षित आवतजावतका लागि इरान र ओमानबिच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको उहाँले बताउनुभयो । “हामी अहिले एउटा अस्थायी मार्गको खाका तयार गर्दैछौँ, जुन आगामी चरणमा स्थायी मार्गमा परिणत हुनेछ”, उहाँले भन्नुभयो ।
होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य सर्तको पालनामा निर्भर रहेको बताउँदै उहाँले त्यसका लागि अमेरिका ती सर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।
“हामी चाँडै नै कुनै निष्कर्षमा पुग्न सक्छौँ”, अराघचीले भन्नुभयो । गत जुन १८ मा इरान र अमेरिकाले लेबनानसहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
समझदारी अनुसार अन्तिम सम्झौताका लागि दुई देशबिच ६० दिनभित्र वार्ता हुनुपर्ने थियो । उक्त समय सीमा आगामी सोमबार सकिँदै छ । तर, गत महिना दुई देशबिच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ । रासस/सिन्ह्वा











