२९ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ:डा. भनोट नेप्से परिसूचक सात अङ्कले घट्यो काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो



अ+ अ-

काठमाडौं । तातोपानी नाका २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा नेपाल–चीनबीचको आयात–निर्यात प्रभावित भएको छ । बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट हुने व्यापार प्रायः ठप्प भएको हो ।

बाह्रबिसे–कोदारी सडकखण्डको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी (इको) क्षेत्रमा असार ३१ गते आएको पहिरोले सडक भासिएपछि नेपाल र चीनबीचको सडक सम्पर्क प्रभावित भएको छ । २६ किलोमिटर लामो उक्त सडकखण्डको अरनिको राजमार्गअन्तर्गत डाक्लाङमा साउन ३ गतेदेखि तथा लिपिङ बजारनजिक साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ ।

सडक अवरुद्ध हुँदा चीनतर्फका विभिन्न सहरमा ठूलो परिमाणमा नेपाली व्यवसायीका सामान रोकिएका छन् । भन्सार कार्यालयका अनुसार चीनको सिगर्चे, ल्हासा र न्यालमलगायत क्षेत्रमा करिब ५०० कन्टेनर रोकिएका छन् भने नेपालतर्फ कोदारीमाथि ४६ कन्टेनरमा करिब रु २० अर्बभन्दा बढी मूल्यका सामान रोकिएका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्रप्रकाश गिरीका अनुसार चालु आर्थिक वर्षमा सरकारले तातोपानी भन्सारबाट रु २५ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर, लामो समयदेखि सडक अवरुद्ध हुँदा भन्सारसम्बन्धी काम नै प्रभावित भएको छ ।

“सडक अवरुद्ध हुने क्रम जारी छ । भन्सारबाट कुनै काम हुन सकेको छैन,” गिरीले भन्नुभयो, “दुई देशबीचको व्यापारमा मात्र होइन, आवतजावतमा समेत कठिनाइ भएको छ ।”

भोटेकोसीको लार्चामा रहेको तातोपानी सुक्खा बन्दरगाह पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेकाले माथिबाट निरन्तर पहिरो खस्ने गरेको छ । पहिरोका कारण दसैँ–तिहार लक्षित सामान, स्याउ, लसुनलगायत खाद्यवस्तु तथा विभिन्न उद्योग र आयोजनाका लागि आवश्यक सामग्री बोकेका कन्टेनर लामो समयदेखि बाटोमै रोकिएका छन् ।

तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी समस्यामा परेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । सडक अवरुद्ध हुँदा व्यवसायी मात्र नभई मजदुर र ढुवानी तथा भन्सारसम्बन्धी काम गर्ने कामदारसमेत प्रभावित भएका छन् । करिब ६४० मजदुर र ट्रान्सपोर्ट तथा भन्सारसम्बन्धी काम गर्ने ३०० कामदारको रोजगारी प्रभावित भएको बताइएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घलगायत व्यापारिक सङ्घसंस्थाले विज्ञप्तिमार्फत उत्तरी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

तातोपानी नाकाबाट तयारी पोशाक, जलविद्युत् आयोजनाका हेभी इक्विपमेन्ट, कृषि औजार, ब्याग, जुत्ता–चप्पल, स्टेशनरी, फर्निचर, खेलौना, फलफूल, शृङ्गारका सामग्री, बीउबिजन, विद्युतीय गाडी, कम्प्युटर पार्ट्स तथा उद्योगका कच्चा पदार्थलगायत सामग्री आयात हुने गरेका छन् ।

हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले तातोपानी नाका सहज सञ्चालनका लागि सरकारले पर्याप्त ध्यान नदिएको गुनासो गर्नुभयो । “नेपाली बजारमा पाइने धेरै उपभोग्य वस्तु चीनबाट आयात हुने गरेको छ,” उहाँले भन्नुभयो, “तर सरकारले नाकालाई सहज बनाउन ध्यान दिएको देखिएन । यसबाट व्यवसायी मारमा परेका छन् ।”

वर्षायाम सुरु भएपछि हरेक वर्ष तातोपानी नाका अवरुद्ध हुने समस्या दोहोरिने गरेको व्यवसायीको भनाइ छ । गत वर्ष पनि असारदेखि असोजसम्म सोही क्षेत्रमा सडक अवरुद्ध हुँदा दसैँ–तिहारका लागि आयात गरिएका सामान नेपाल भित्रिन सकेका थिएनन् ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारीले डाक्लाङ, घट्टेखोला र इको क्षेत्रमा पहिरोका कारण आवतजावतमा कठिनाइ भएको बताउनुभयो ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले इको पहिरो नियन्त्रणका लागि चिनियाँ अनुदान प्राप्त भए पनि समयमै काम सुरु हुन नसक्दा समस्या थपिएको बताउनुभयो । उहाँका अनुसार इको क्षेत्रमा जमिन भासिँदै गएकाले सडक मात्र नभई बस्तीसमेत जोखिममा परेको छ ।

इको पहिरोमाथि रहेको कोदारी थामी गाउँमा करिब ६० परिवार बसोबास गर्छन् । जमिन भासिँदै जाँदा बस्ती जोखिममा परेको अध्यक्ष शेर्पाको भनाइ छ । त्यस्तै चारकिलो पहिरोमाथि रहेको पन्थली गाउँमा ५० भन्दा बढी घर रहेकाले ठूला मेसिन प्रयोग गर्दा समेत जोखिम उत्पन्न हुन सक्ने उहाँले बताउनुभयो ।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले वर्षा सुरु हुनेबित्तिकै माथिबाट लेदो बगेर सडक नै बगाउने समस्या रहेकाले व्यवसायीले हरेक वर्ष सास्ती भोग्नुपरेको बताउनुभयो । “जब वर्षा लाग्छ, पहिरो जान्छ अनि मात्रै काम सुरु गर्ने परिपाटीले सास्ती भोग्नु परिरहेको छ,” उहाँले भन्नुभयो ।

तातोपानी नाका दुई देशबीचको व्यापारका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय मार्ग भए पनि वर्षायाममा सडक अवरुद्ध हुने समस्या स्थायी रूपमा समाधान हुन नसक्दा हरेक वर्ष व्यापार तथा व्यवसाय प्रभावित हुँदै आएको छ ।