काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन महाशाखा प्रमुख डा. महेश्वर ढकालले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा युवाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित ‘लोकल कन्फरेन्स अफ युथ’लाई सम्बोधन गर्दै डा. ढकालले बदलिँदो जलवायु परिस्थितिअनुसार युवाहरूले आफ्नो भूमिका पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशाका केन्द्र भएकाले उनीहरूले बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने धारणा राख्नुभयो ।
पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा बढी अनुशासित र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उहाँले युवाहरूमा अनुशासन, नम्रता र विनम्रता आवश्यक रहेको बताउनुभयो ।
हरित अर्थतन्त्रमार्फत युवाका लागि रोजगारी, आम्दानी र समृद्धिको बाटो निर्माण गर्न सकिने भएकाले सरकारसहित सबै सरोकारवालाको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा पैरवीसँगै नेपालमा उपलब्ध स्रोत तथा साधनको सही सदुपयोगमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
स्थानीय सरकारसँग स्थानीय समस्या, स्रोतसाधन र जलवायुजन्य जोखिमबारे प्रत्यक्ष जानकारी हुने भएकाले युवाहरूले स्थानीय सरकारसँग सहकार्य गरी जलवायु कार्य अघि बढाउनुपर्नेमा डा. ढकालले जोड दिनुभयो ।
उहाँले युथ सम्मेलनबाट तयार हुने आधारपत्र र निष्कर्षलाई सरकारले आफ्नो ‘कन्ट्री पोजिसन पेपर’मा समेत समावेश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले युवाहरूले ‘१.५ डिग्री सेल्सियस’ र ‘सीबीडीआर–आरसी’ जस्ता जलवायु परिवर्तनसँग सम्बन्धित विषय बुझ्नुपर्ने बताउँदै जलवायु कार्य र जलवायु न्यायसँग युवाको आवाजलाई जोड्नुपर्ने धारणा राख्नुभयो ।
‘तपाईं युवाहरू इनोभेटर, चेन्ज एजेन्ट र भविष्यको आशा हो,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूले बोल्ने, लेख्ने, प्रस्तुत गर्ने र सुन्ने कुराले भोलिको नेपालको भविष्य मार्गदर्शन गर्छ।’
उहाँले नेपालमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै हरित अर्थतन्त्रको बाटोबाट युवाका लागि रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सम्मेलनमा मुलुकभरबाट १८० जना युवा सहभागी छन् । सम्मेलनमा जलवायु कार्यका विभिन्न नौ वटा सत्रमा विषयविज्ञहरूले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
– न्युज एजेन्सी नेपाल











