२९ श्रावण २०८३, शुक्रबार
,
Latest
देउवा इतर पक्षको राष्ट्रिय भेलामा सहभागी नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल सुजाता कोइरालाले भनिन्ः ‘देउवाले पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ’ धवलले गरे ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह ‘त्रिभुज’ युवाले जलवायु परिर्वतनलाई गहिराइबाट बुझ्नुपर्छः डा.महेश्वर ढकाल मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन् नेपाल एयरलाइन्सलाई पीपीपी मोडलमा लैजानुपर्ने मन्त्री पौडेलको धारणा हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन र समुन्नतिको यात्रालाई गति दिन पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताउनुभएको छ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले कांग्रेसको आन्तरिक सुदृढीकरण नै मुलुकको आवश्यकता भएको बताउनुभयो। पार्टीभित्र देखिएका प्रतिकूलता र भिन्न मतका बीच पनि कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताको जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर अघि बढ्ने विश्वास शर्माले व्यक्त गर्नुभयो। नेता–कार्यकर्ताबीचको व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै उहाँले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा महत्वपूर्ण हुने बताउनुभयो।

गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेको प्रसंग उल्लेख गर्दै शर्माले उक्त फैसलालाई कसैको जित वा हारका रूपमा लिन नहुने बताउनुभयो। अदालतको फैसला आएको ४८ घण्टाभित्रै पार्टी नेतृत्वले संवादको प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो।

उहाँले पार्टीभित्रको आन्तरिक विषय भएकाले संयम र परिपक्वता अपनाउँदै जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेताहरूलाई पठाइएको बताउनुभयो। त्यसबेला प्रस्तावलाई गोप्य राखिए पनि पछि जेठ ३१ गते सार्वजनिक गरिएको उहाँको भनाइ थियो।

शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिका रूपमा भूमिका निर्वाह गर्ने कुरामा आफू पूर्ण रूपमा दृढ रहेको बताउनुभयो।

राजनीतिक विषयहरू मूलतः राजनीतिक ढंगबाटै समाधान गरिनुपर्ने भए पनि कतिपय अवस्थामा कानुनी निरूपण आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो। यस्ता सबै विषयलाई पार्टीको विधान, नेपालको संविधान र कांग्रेसको ऐतिहासिक निरन्तरताको जगमा सम्बोधन गरिनुपर्ने उहाँको भनाइ थियो।

उहाँले पार्टी र व्यक्तिगत सम्बन्धमध्ये छनोट गर्नुपर्ने अवस्था आए पार्टी र देशलाई प्राथमिकता दिन सबै नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।