काठमाडाैँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउनुभएको हो । सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पु¥याएको उल्लेख गर्नुभयो ।
भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनु भयो ।
भ्रष्टाचारका सन्दर्भमा बोल्दै सांसद स्वाँरले सबै राजनीतिक दलका नेता, कर्मचारी र तिनका आफन्तहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिनुभयो । उहाँले विभिन्न समयमा गठित छानबिन समितिका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले दोषीलाई संरक्षण गरिरहेको आरोप समेत लगाउनु भयो ।
सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उहाँले भन्नुभयो, ‘सभामुखले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न । उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ ? मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ । जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो ।’
मुलुकको आर्थिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै उहाँले विद्युत महशुलमा लगाइएको भ्याट, राहदानी र सवारी चालक अनुमति पत्र लिन जनताले भोग्नुपरेको सास्ती, र स्वास्थ्य बीमा प्रभावकारी नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले प्रधानमन्त्रीका कतिपय दाबीहरूको खण्डन गरेको उल्लेख गर्दै उहाँले सरकारका तथ्याङ्क र वास्तविकतामा ठूलो खाडल रहेको बताउनु भयो ।











