२६ श्रावण २०८३, मंगलवार
,
Latest
अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन फिलिपिन्सको पहिरोमा परी चार जनाको मृत्यु, ६ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन



अ+ अ-

जनकपुरधाम। मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको गए राति निधन भएको छ ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए राति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ । उहाँको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् । डा विमलकोे पार्थिव शरीर हाल जनकपुरधाम–४ देवीचोकस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । साहित्यकार, शिक्षाविद्, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति छ ।

मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्ष रहनुभएका डा विमल मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । सन् १९४७ जुलाई २६ मा धनुषा जिल्लाको देवडिहा गाउँस्थित खिरखिरियामा जन्मिनुभएका डा विमल नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको थियो भने भाषा विज्ञान विषयमा पिएचडी गर्नुभएको थियो ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा नेपाली विभागमा लामो समय अध्यापन गर्नुभएका उहाँ करिब चार दशकको प्राध्यापन यात्रापछि उहाँ अवकाशप्राप्त हुनुभएको थियो ।

साहित्यका क्षेत्रमा अग्रणी श्रष्टा डा विमलको पहिलो कथा ‘विपतिया’ १५ मार्च १९६३ मा मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उहाँ कथा, कविता, गीत, गजल, नाटक, उपन्यास, समालोचना, बालसाहित्य, अनुवाद तथा भाषा विज्ञानका क्षेत्रमा निरन्तर सक्रिय रहनुभएको थियो ।

उहाँका कृतिमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ तथा ‘फिस्टी रानी’लगायतका पुस्तक प्रकाशित छन् । उहाँका रचना गोरखापत्र, मधुपर्क, गरिमा लगायतका प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुँदै आएका थिए ।

उहाँको कथामा आधारित ‘हंसा चलल परदेश’ नामक मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट प्रसारण समेत भएको थियो । यसले मैथिली साहित्यलाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक पाठक र दर्शकमाझ पु¥याउन योगदान गरेको जनकपुरधामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताउनुभयो ।

डा विमल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट पुरस्कृत र सम्मानित हुनुभएको थियो । उहाँ विद्यापति पुरस्कार कोषद्वारा स्थापित ‘नेपाल विद्यापति भाषा, साहित्य पुरस्कार’का पहिलो प्राप्तकर्ता हुनुहुन्थ्यो । यसका अतिरिक्त उहाँ गरिमा सम्मान, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा पुरस्कार, सिद्धी श्री पुरस्कार लगायतका सम्मानबाट विभूषित हुनुभएको थियो ।

साहित्यकार मण्डलका अनुसार उहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ । नेपालभित्रको मिथिला र मिथिलावासीको सामाजिक यथार्थलाई मौलिक शैलीमा प्रस्तुत गर्नु उहाँको लेखनको विशेषता मानिन्छ ।

यसैबीच मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा विमलको निधनप्रति साहित्यकार तथा पत्रकारहरुले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।