११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने

साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
अ अ+ अ-

काठमाडौँ। सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।

भक्तजनले शिवको विशेष पूजाआराधना गरी साउने सोमबारको व्रत समापन गरेका हुन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने परम्परा रहिआएको छ । आज बिहानैदेखि पशुपतिनाथ मूल मन्दिरको बाहिरी क्षेत्रमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र वर्तालु भक्तजनको घुइँचो थियो ।

विशेषगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख, शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने परम्परा छ । साउनको पनि सोमबार विशेष मानिन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुभयो । परम्पराअनुसार कुनै कूलविशेषले चान्द्रमास अनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रूपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष साउन ४, ११, १८ र २५ गते गरी चार वटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो । नयाँ व्रत सुरु गर्नेले पाँच वटा सोमबार परेको वर्षदेखि आरम्भ गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो । शास्त्रीय मान्यता अनुसार चार वटा सोमबार परेको वर्षदेखि पनि नयाँ वर्तालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शिवपुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मत अनुसार महिला/पुरुष दुवैले यो व्रत गर्नुपर्ने उहाँले बताउनुभयो । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथ लगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लाग्ने गरेको छ । भक्तजनले वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाएका हुन् ।

साउनभर बोल बम यात्रीले सुन्दरीजल भरिभराउ भयो ।  भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घ, श्री पशुपतिनाथ काँवरिया समितिलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा गरेका थिए । धेरै नेपालीले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ ।

साउनमा भक्तजनको विशेष घुइँचो लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला, साना शिवालय भक्तजनको लाम देखिन्थ्यो । साउनको अन्तिम सोमबार आज गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर मन्दिरलगायत देशभरका शिवालयमा गोदान, पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गर्ने भक्तजनको घुइँचो लागेको जनाइएको छ । रासस