काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिनुभएको हो ।
उहाँले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिनुभयो । कांग्रेसलाई बलियो र एकताबद्ध बनाएर मुलुकमा बढ्दै गएको निरंकुश प्रवृत्तिको सामना गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेता बस्नेतले कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुको विकल्प नरहेको बताउँदै देशभरका युवा कार्यकर्तालाई आ–आफ्नो जिल्लामा एकीकृत भएर संगठन सुदृढीकरणको अभियान अघि बढाउन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “मरणासन्न अवस्थामा पुगेको काँग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो काँग्रेस निर्माण गर्नु आजको आवश्यकता हो ।”
कांग्रेसलाई फुटाउने नभई अझ बलियो र एकताबद्ध बनाउने उद्देश्यले देशभर अभियान सञ्चालन भइरहेको उहाँले स्पष्ट पार्नुभयो । निर्धारित समयसम्म पार्टीभित्रको गतिरोधको निकास ननिस्किए नयाँ कार्यदिशा लिनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
वर्तमान राजनीतिक चुनौतीको सामना गर्दै देशलाई सही निकास दिन कांग्रेसले आन्तरिक रूपमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने नेता बस्नेतले बताउनुभयो ।











